काठमाडौं । रेमिट्यान्समा आएको वृद्धि र विदेशी मुद्रा सञ्चितिमा देखिएको उच्चतम स्तरले नेपालको आर्थिक स्थितिमा सकारात्मक संकेत दिएको छ। चालु आर्थिक वर्षको ६ महिनामा (साउनदेखि पुस) नेपालको विदेशी मुद्रा सञ्चिति २३ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ। यो ऐतिहासिक उच्च हो, जसको डलरमा मापन गर्दा १६ अर्ब ८४ करोड डलरको बराबरी हुन्छ।
यस सञ्चितिले मुलुकको १४ महिना १२ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ। गत कात्तिकमा यो अवधि १५ महिना ३ दिन थियो। आयातमा भएको सुधारसँगै सञ्चितिले धान्ने अवधि घटेको हो। यस अवधिमा ७।१ प्रतिशतको वृद्धि संग आठ खर्ब २२ अर्ब रुपैयाँको आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा ७ खर्ब ६८ अर्ब रुपैयाँको आयात भएको थियो। हालको अवस्थामा सात महिनासम्मको आयात धान्न पर्याप्त विदेशी मुद्रा सञ्चिति रहेको छ।