काठमाडौं । पछिल्लो समय नेपालमा नगदरहित कारोबारको दायरा तीव्र गतिमा विस्तार भइरहेको छ। दैनिक उपभोग्य वस्तु किनमेलदेखि लाखौँ रुपैयाँसम्मका आर्थिक लेनदेनहरू अहिले डिजिटल माध्यममार्फत हुने क्रम तीव्र गतिमा बढ्दो छ। अधिकांश नेपालीहरू अब खल्तीमा नगद होइन, स्मार्टफोन बोक्दै डिजिटल भुक्तानीमा अभ्यस्त बन्दै गएका छन्।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार, मोबाइल बैंकिङ, वालेट, कार्ड र इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ।
२०८२ साल भदौ मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ८२ लाख ४० हजार १०६ जना पुगेका छन्। यो अघिल्लो वर्षको सोही अवधिको २ करोड ५२ लाख ७ हजार १२२ को तुलनामा करिब ३० लाखभन्दा बढीको वृद्धि हो।
त्यस्तै, डिजिटल वालेट प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रूपमा बढेको छ। २०८१ सालको भदौमा दुई करोड ४२ लाख ६४ हजार वालेट प्रयोगकर्ता रहेकामा २०८२ भदौमा यो संख्या दुई करोड ४६ लाख ८४ हजार पुगेको छ। एक वर्षको अवधिमा ४ लाख २० हजार नयाँ प्रयोगकर्ता थपिएका हुन्।
डेबिट कार्ड प्रयोगकर्ता हाल एक करोड ३७ लाख ६३ हजार पुगेका छन् भने क्रेडिट कार्ड प्रयोगकर्ता ३ लाख २१ हजार र प्रिपेड कार्ड प्रयोगकर्ता २ लाख ५७ हजार पुगेका छन्।
त्यस्तै, इन्टरनेट बैंकिङ प्रयोगकर्ता २२ लाख ७८ हजार पुगेका छन् भने देशभर ४ लाख ३९ हजारभन्दा बढी पीएसपी एजेन्टहरू कार्यरत छन्।
यससँगै, कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या पनि बढ्दो छ। २०८१ भदौ मसान्तमा १३ लाख १५ हजार रहेका प्रयोगकर्ता २०८२ भदौमा १४ लाख ७२ हजार पुगेका छन्।
विशेषज्ञहरूका अनुसार, डिजिटल कारोबारमा देखिएको यो तीव्र वृद्धि नेपालको वित्तीय पहुँच, प्रविधि अंगीकरण र नगदरहित अर्थतन्त्रतर्फको यात्राका लागि सकारात्मक संकेत हो।

