काठमाडौं । पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ स्थित वडा कार्यालयमा गएराति तोडफोड भएको छ । गाउँपालिका अध्यक्ष जसवन्त यादवका अनुसार ५–६ जनाको समूहले कार्यालयको ताला फोडी भित्र प्रवेश गरी कुर्सी, टेबल, पंखा, दराज लगायत सामग्री नष्ट गर्नुका साथै लेटरप्याड, छाप र ल्यापटप चोरी गरेका छन् ।
वडाध्यक्ष आरिफ अन्सारीले भारतीय नागरिकलाई नागरिकता सिफारिस नगरेको झोकमा तोडफोड भएको आशंका गरेका छन् । ती भारतीय नागरिकलाई नागरिकता दिन लामो समयदेखि दबाब र धम्की आइरहेको उनी बताउँछन् ।
तोडफोडमा संलग्न समूहविरुद्ध मुद्दा दर्ता गर्न वडाध्यक्ष अन्सारी जिल्ला प्रहरी कार्यालय पुगेका छन् । घटनाबारे अनुसन्धान भइरहेको पर्साका एसपी गौतम मिश्रले जानकारी दिएका छन् ।