काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा कर्फ्युको समय थप गरेको छ। आइतबार राती १२ बजेसम्म कर्फ्यू थप गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
हनुमान जयन्तीको अवसरमा आयोजित शोभायात्राका क्रममा शनिबार दुई समुदायबीच झडप भएर स्थिति तनावग्रस्त बनेपछि प्रशासनले साँझ ६:३० बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेको थियो।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आइतबार राती १२ बजेसम्मका लागि कर्फ्युको समय थप गरिएको हो। कर्फ्यूको समय थप गरेसँगै वीरगन्जमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
उनका अनुसार पूर्वमा वीरगन्ज-१५ मा रहेको भेडियाही चोक, पश्चिममा वीरगन्ज-२५ को सिर्सिया चोक, उत्तरमा वीगरन्ज-१४ को गण्डक चोक र दक्षिणमा वीरगन्ज-१६ को शंकराचार्य चोकसम्म कर्फ्यु लगाइएको हो।