एजेन्सी । भारतको लद्दाखमा राज्यको माग चर्किँदै जाँदा आन्दोलन हिंसात्मक बनेको छ । स्थानीय जनताले लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने मागसहित गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यम इन्डिया टुडे का अनुसार, आन्दोलन चर्किएपछि आक्रोशित भीडले लेहस्थित भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा आगजनी गरेको छ । साथै, एउटा गाडीमा समेत आगो लगाइएको अधिकारीहरूले जनाएका छन् ।
प्रदर्शन नियन्त्रण गर्न प्रहरी र सुरक्षाकर्मीले अश्रुग्यास र लाठीचार्जको प्रयोग गरेका थिए । तर, आन्दोलनकारी थप आक्रामक बनेपछि अवस्था झन् तनावपूर्ण भएको छ ।
सन् २०१९ मा भारतीय केन्द्र सरकारले संविधानको धारा ३७० हटाएर जम्मु–कश्मीरलाई दुईवटा केन्द्रशासित प्रदेशमा विभाजन गरेको थियो । सो क्रममा लद्दाखलाई छुट्टै केन्द्रशासित प्रदेश बनाइए पनि स्थानीयहरूले त्यसपछि नै आफ्नै विधानसभा र राजनीतिक अधिकारको माग उठाउँदै आएका छन् ।
स्थानीय नेताहरूको आरोप छ— दिल्लीबाट प्रत्यक्ष शासन थालिएसँगै लद्दाखबासीको राजनीतिक प्रतिनिधित्व खोसिएको छ । उनीहरूले लद्दाखलाई भारतीय संविधानको छैटौँ अनुसूचीमा समावेश गर्नुपर्ने माग पनि दोहोर्याउँदै आएका छन् ।
भारतीय संविधानको छैटौँ अनुसूचीअन्तर्गत परेमा आदिवासी तथा स्थानीय समुदायलाई भूमि, रोजगारी, भाषा र संस्कृतिमा विशेष अधिकार प्राप्त हुन्छ । तर, लद्दाख यस अनुसूचीमा नपरेकाले बाह्य जनसंख्या र पूँजीको बढ्दो प्रभावले स्थानीय सम्पदा र संस्कृति संकटमा पर्ने चिन्ता बढ्दो छ ।