ललितपुर । ललितपुरस्थित किस्ट मेडिकल कलेज अस्पतालमा सुत्केरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ। खोटाङकी मीना राईको शनिबार प्रसूति (डेलिभरी)पछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएपछि उनका आफन्तले आइतबारदेखि अस्पताल परिसरमा प्रदर्शन गर्दै तोडफोड गरेका छन्।
आफन्तहरूले अस्पताल प्रशासनमाथि गम्भीर लापरबाहीको आरोप लगाउँदै उपचारमा ढिलासुस्ती र लापरबाहीकै कारण मीना राईको ज्यान गएको दाबी गरेका छन्। उनीहरूका अनुसार अस्पतालले समयमा आवश्यक उपचार नदिँदा सुत्केरीको ज्यान गएको हो।
आक्रोशित आफन्तहरूले अस्पताल परिसरमा ढुंगामुढा तथा तोडफोड गरेपछि अहिले अस्पताल वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरीले अस्पताल परिसरमा प्रहरीबल तैनाथ गरेको छ भने बिरामीबाहेक अन्य व्यक्तिलाई अस्पताल प्रवेशमा रोक लगाइएको छ।
मृतक राईका परिवारले अस्पतालले उचित क्षतिपूर्ति, लापरबाही गर्ने चिकित्सकमाथि कारबाही, साथै दुई बालबच्चाको पालनपोषण र आर्थिक जिम्मेवारी लिनुपर्ने माग राखेका छन्।
अस्पताल प्रशासनले भने घटनाबारे आन्तरिक अनुसन्धान भइरहेको र आवश्यक विवरण सार्वजनिक गरिने जनाएको छ। यसबीच, प्रहरीले स्थिति नियन्त्रणमा रहेको र कुनै ठूलो क्षति नभएको जनाएको छ।

