काठमाडौँ । पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने प्रक्रिया सरकारले अगाडि बढाएको सञ्चारमन्त्री जगदीश खरेलले बताएका छन्। सुरक्षा मुद्रण कोषमा रोजगारी पाएकी दिवंगत रजककी श्रीमती सुजन मगियालाई नियुक्तिपत्र प्रदान गर्ने क्रममा मन्त्री खरेलले सो जानकारी दिएका हुन्।
उनका अनुसार सरकारका तर्फबाट तत्काल रोजगारी उपलब्ध गराई केही राहत प्रदान गर्ने प्रयास गरिएको हो। साथै सुजन मगियाले चाहेमा विश्वविद्यालयमा अध्ययन अघि बढाउन आवश्यक सबै सहजीकरण गरिने प्रतिवद्धता पनि मन्त्री खरेलले व्यक्त गरे।
पत्रकार सुरेश रजकको गत चैत १५ गते राजाबादी आन्दोलनको समाचार संकलन गर्ने क्रममा आगलागीका कारण मृत्यु भएको थियो। रजकको निधनको घटनाले पत्रकारिता क्षेत्र र लोकतान्त्रिक आन्दोलनमा गम्भीर क्षति पुगेको भन्दै सरकारले उनलाई सहिद घोषणाको प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

