काठमाडौं । काठमाडौं महानगरपालिकाले अतिक्रमणमुक्त गरिसकेको ५ रोपनी १० आना जग्गामा स्पोर्टस पार्क निर्माण कार्य सुरु गरेको छ । वडा नम्बर १०, देवीनगर (धोबीखोला करिडोर खण्ड) मा रहेको सार्वजनिक जग्गामा अवैध संरचना हटाएर यस स्थानमा पार्क निर्माणका लागि शिलान्यास गरिएको हो ।
वडा १० का अध्यक्ष तथा महानगरपालिकाको सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले पार्क निर्माण केवल पूर्वाधार निर्माण नभई सामाजिक क्रियाकलापलाई बढाउने माध्यम पनि हुने बताएका छन् ।
निर्माण गर्न लागिएको पार्कको कुल क्षेत्रफल २ हजार ८८० वर्गमिटर रहेको छ । उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाले यस परियोजना कार्यान्वयन गर्दै आएको छ। पार्क निर्माणका लागि बोलपत्र आह्वान गर्दा १२ वटा कम्पनीले आवेदन दिएका थिए र हान्स–चपुर ज्वाइन्ट भेन्चरले जिम्मेवारी पाएको छ ।
पार्कको अनुमानित लागत भ्याट र पीएससहित २ करोड ८१ लाख ४० हजार रुपैयाँ रहेको छ । कार्यादेश रकम भ्याट र पीएसबाहेक १ करोड ८८ लाख ९१ हजार रुपैयाँ हो । निर्माण अवधि २०८३ कार्तिक १८ गतेसम्म रहेको छ ।
पार्कभित्र खुला व्यायामशाला, १२८ वर्गमिटर क्षेत्रफलको ब्याडमिन्टन कोर्ट, ९२८।५३ वर्गमिटरको फुटसल मैदान निर्माण हुने छ । महिला, पुरुष र अपाङ्ग व्यक्तिहरूका लागि छुट्टाछुट्टै शौचालय र पोसाक परिवर्तन कक्ष पनि रहनेछन् । पार्कको ३११.८९ वर्गमिटर क्षेत्रमा हरियाली क्षेत्र तयार पारिनेछ । पार्कमा विभिन्न जातका १६३ वटा बिरुवा र ३ सय मौसमी फूल रोपिनेछन् । पार्कको सुरक्षा सुनिश्चित गर्न वरिपरि पर्खाल पनि बनाइनेछ ।
निर्माणपछि पार्क आसपासका अनामनगर, घट्टेकुलो, मैतीदेवी, पुरानो बानेश्वर, थापागाउँ लगायतका स्थानीयवासीलाई खुला व्यायाम, ज्येष्ठ नागरिकका लागि टहल्ने, बालबालिका र युवाहरूका लागि खेलकुदको अवसर उपलब्ध हुनेछ ।
महानगर प्रहरी बलले यस स्थानमा रहेको संरचना २०८० साल साउन ४ गते अतिक्रमणमुक्त गरेको थियो । पूर्वमन्त्री भद्रकुमारी घलेले महानगरपालिकाको अभियानमा सहयोग गर्दै आफ्नो संरचना हटाउन सहयोग गरेकी थिइन् ।

