काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनलाई तोकिएको मितिमै शान्तिपूर्ण ढंगले सम्पन्न गर्नु सरकारको मुख्य जिम्मेवारी भएको बताएका छन्।
गृहमन्त्रालयमा बिहीबार आयोजित आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अर्यालले सबै मातहत निकायलाई निर्वाचनका लागि आवश्यक तयारी र प्रतिवद्धताका साथ काम गर्न निर्देशन दिए।
उनले सेवा प्रवाहमा छरितोपन ल्याउन, प्रक्रियालाई सरल बनाउन र सकेसम्म सेवाहरूलाई डिजिटल माध्यममार्फत उपलब्ध गराउने व्यवस्था मिलाउन मन्त्रालयका कर्मचारीलाई निर्देशन दिए। “सेवा ग्राहीले सरकारी झन्झट सहन नपर्ने वातावरण बनाउनु जरूरी छ,” मन्त्री अर्यालले भने।
मन्त्री अर्यालले आगामी निर्वाचनका लागि आवश्यक स्रोत–साधन व्यवस्थापनमा अर्थ मन्त्रालयले दिएको सहजीकरणप्रति धन्यवाद व्यक्त गरे। साथै प्रधानमन्त्री कार्यालय, योजना आयोग, अर्थ तथा संघीय मामिला मन्त्रालयले दिएको सुझाव कार्यान्वयनमा लैजाने उनले प्रतिवद्धता जनाए।
राजस्व चुहावट रोकथाममा अझ प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याउँदै उनले आगामी चौमासिकमा उल्लेखनीय प्रगति देखिने गरी काम गर्न निकायहरूलाई निर्देशन दिए।
त्यसैगरी सीमापार अपराध नियन्त्रण, लागूऔषध दुरुपयोग रोकथाम, ओसारपोसारविरुद्ध कारबाही र सडक दुर्घटना न्यूनीकरणका लागि अहिलेको कार्यशैलीको पुनरावलोकन गर्न उनले सम्बन्धित निकायलाई आग्रह गरे।
“जेनजी आन्दोलनका कारण केही काममा अवरोध आए पनि अब नियमित कामलाई तीव्रता दिएर अघि बढ्नुपर्नेछ,” मन्त्री अर्यालले भने।
बैठकमा गृह सचिव रामेश्वर दंगालले सुशासन र पारदर्शितालाई प्राथमिकता दिएर मन्त्रालयका सबै कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए।
समीक्षामा प्रस्तुत विवरणअनुसार गृहमन्त्रालयले चालु वर्षको पहिलो चौमासिकमा चालु खर्चतर्फ २०.९२ प्रतिशत र पुँजीगततर्फ १०.६५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जानकारी दिइएको थियो।

