काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगकाे म्याद एक महिना थप गर्न आग्रह गरिएकाे छ। बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलमा आयोगका पदाधिकारीले काम सम्पन्न गर्न थप समय आवश्यक रहेको भन्दै म्याद थप गर्न आग्रह गरेका हुन्।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गत असोज ५ गते गठित आयोगको तीन महिनाको अवधि पुस ९ गते सकिँदै छ। आयोगका अध्यक्ष कार्कीका अनुसार प्रधानमन्त्रीले समय थप गर्ने सकारात्मक आश्वासन दिएकी छन्।
छानबिन प्रक्रियालाई निष्कर्षमा पुर्याउन आयोगले अर्को साता राजनीतिक दलका शीर्ष नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जसमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलगायतका नेताहरू रहेका छन्।
आयोगले यसअघि सुरक्षा र प्रशासनका उच्च पदस्थ अधिकारीको बयान लिइसकेको छ। बयान लिने क्रम अझै जारी रहेको र केही राजनीतिक नेतृत्वसँग छलफल गर्न बाँकी रहेकाले आयोगले समय थप गर्नु परेको जनाएको छ।

