काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार सिंहदरबारमा आयोजित सर्वपक्षीय छलफलमा अघिल्लो निर्वाचनको तुलनामा मतदाताको सङ्ख्या ५.६५ प्रतिशतले वृद्धि भएको जानकारी दिएका हुन्।
मतदाता नामावलीको अन्तिम विवरण आगामी पुस १५ गते तयार हुने भए पनि हालसम्मको तथ्याङ्कले मतदाताको सहभागिता उत्साहजनक देखिएको आयोगले जनाएको छ।
यसपटक निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलको सङ्ख्या ११४ पुगेको छ। २०७९ सालको निर्वाचनमा ८७ दल मात्र सहभागी भएकोमा यसपटक दलको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो। आयोगका अनुसार दलहरूको बढ्दो सहभागिताले आगामी निर्वाचनमा कडा प्रतिस्पर्धा हुने संकेत गरेको छ।
निर्वाचनलाई मितव्ययी र व्यवस्थित बनाउन आयोगले मतदान केन्द्रमा प्रयोग हुने ५१ प्रकारका सामग्रीको पहिचान गरेको छ। आयोगसँग पर्याप्त मौज्दात रहेकाले मतपेटिका र मसी थप खरिद नगर्ने निर्णय गरिएको प्रवक्ता भट्टराईले बताए।
अन्य आवश्यक सामग्रीमध्ये ३७ प्रकारका सामग्री जिल्लास्तरबाटै खरिद गरिने छ भने १४ प्रकारका मुख्य सामग्री केन्द्रबाट खरिद गरी पठाइने तयारी गरिएको छ। स्वस्तिक छाप, स्ट्याम्प प्याड, मसी, डटपेन र धागोजस्ता सामग्रीमध्ये पनि मौज्दात रहेकालाई प्राथमिकता दिई नपुग मात्र खरिद गरिने आयोगले स्पष्ट पारेको छ।
आयोगले निर्वाचन पर्यवेक्षणका लागि पहिलो चरणको अनुमति दिइसकेको छ। साथै, निर्वाचनको उपयुक्त वातावरण निर्माणका लागि सरकार तथा सुरक्षा निकायसँग निरन्तर समन्वय र परामर्श भइरहेको जनाएको छ।
फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र व्यवस्थित रूपमा सम्पन्न गराउने तयारी तीव्र पारिएको आयोगको भनाइ छ।

