काठमाडौं । भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार मंगलबार लेखकलाई पत्र पठाइ सात दिनभित्र आयोगमा उपस्थित भई बयान दिन आग्रह गरिएको हो। आयोगले आन्दोलनका क्रममा प्रशासनिक तथा सुरक्षा निकायको नेतृत्वमा रहेका व्यक्तिहरूको बयान लिने प्रक्रिया पूरा भइसकेपछि राजनीतिक नेतृत्वको बयान लिन सुरु गरेको जनाएको छ। सोही प्रक्रियाअन्तर्गत पूर्वगृहमन्त्री लेखकलाई बयानका लागि बोलाइएको प्रवक्ता शर्माले जानकारी दिए।
यसैबीच आयोगले तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पनि बयानका लागि पत्र पठाउने तयारी भइरहेको जनाएको छ। आयोगले घटनासम्बन्धी सत्यतथ्य पत्ता लगाउन बयान तथा प्रमाण संकलनको कामलाई तीव्र बनाएको छ।

