काठमाडौं । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ। विभागका अनुसार हालसम्म कुल ३ लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको छ र आवश्यक परेकालाई तत्कालै राहदानी उपलब्ध गराइनेछ।
विभागले यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय गरेको थियो। राहदानी पुस्तिकाको आपूर्तिसँगै विभाग पूर्ण क्षमतामा पुगेको र राहदानी वैयक्तिकरण कार्य तीव्र गतिमा भइरहेको जनाएको छ।
वैयक्तिकरण भएका राहदानी जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिएका सेवाग्राहीलाई उपलब्ध गराइने विभागको भनाइ छ।
विभागका अनुसार गत मङ्सिर १५ गतेसम्म आवेदन दिएका सेवाग्राहीलाई यही पुस १५ गतेसम्म नयाँ राहदानी उपलब्ध गराइनेछ। त्यसपछि आवेदन दिनेहरूलाई क्रमशः राहदानी वितरण गरिनेछ।
अन्तरिम अवधिका लागि पर्याप्त राहदानी पुस्तिका उपलब्ध भइसकेकाले अब राहदानी वितरण प्रक्रिया सहज र नियमित हुने विभागले स्पष्ट पारेको छ।

