काठमाडौं । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीच औपचारिक रूपमा एकता भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच दुई पार्टीका शीर्ष नेताहरूले १०बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै एकताको घोषणा गरेका हुन् । सहमतिपत्रमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपाल तथा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ नै रहने र चुनाव चिह्न ‘तारा’ राख्ने सहमति भएको छ । यससँगै दुवै पार्टीका तर्फबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरू अब स्वतः नेपाली कम्युनिष्ट पार्टीको सदस्य हुनेछन् । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिसहित सम्पूर्ण साविकका संरचना र जनवर्गीय संगठनहरूलाई आपसी सहमतिका आधारमा नयाँ पार्टीमा समायोजन गरिने सहमतिपत्रमा उल्लेख छ ।
एकीकृत पार्टीले संघीयता, सुशासन, समृद्धि र सामाजिक न्यायलाई मुख्य प्राथमिकता दिँदै समाजवादको दिशामा अगाडि बढ्ने लक्ष्य लिएको छ । मुलुकको सार्वभौमिकता र अखण्डताको रक्षा गर्दै संघीय समाजवादी गणतन्त्र प्राप्तिका लागि सडक, सदन र सरकार तीनै क्षेत्रबाट संघर्ष गर्ने प्रतिबद्धता नेताहरूले जनाएका छन् । यसैगरी, वर्तमान संविधानका सकारात्मक पक्षहरूको रक्षा गर्दै नयाँ पुस्ताको भावना र राष्ट्रको हित अनुकूल संविधान संशोधन र परिमार्जनका लागि पहल गर्ने सहमति समेत भएको छ ।
विशेष गरी नागरिक उन्मुक्ति पार्टीले उठाउँदै आएको टीकापुर घटनाको विषयलाई पनि सहमतिमा समेटिएको छ । सहमतिपत्रमा टीकापुर घटनाका सन्दर्भमा राजनीतिक प्रतिशोधका आधारमा लगाइएका झुट्टा मुद्दाहरू खारेज गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने उल्लेख छ । यस्तै महिला, थारु, मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम लगायतका सीमान्तकृत समुदायलाई राज्यका हरेक निकायमा समानुपातिक समावेशीकरणको प्रत्याभूति गराउने विषयलाई पार्टीले मुख्य कार्यदिशा बनाएको छ ।
पार्टीलाई सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्वका आधारमा जनवादी केन्द्रीयताको संगठनात्मक पद्धति अनुरूप सञ्चालन गरिने बताइएको छ । एकता घोषणासँगै नेताहरूले मुलुकका अन्य वामपन्थी, समाजवादी र प्रगतिशील शक्तिहरूलाई पनि एउटै केन्द्रमा ध्रुवीकृत हुन अपिल गरेका छन् ।
यस्ता छन् सहमतिका बुँदाहरू
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, भौगोलिक विविधतायुक्त, सहअस्तित्वात्मक, समावेशी, धर्मनिरपेक्ष, समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो। विविधतामा एकता नेपालको राष्ट्रिय विशेषता हो। नेपालको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, लोकतन्त्र, शान्ति र अग्रगमनका पक्षमा ऐतिहासिक विभिन्न कालखण्डमा भएका जनआन्दोलन, जनयुद्ध, थारू आन्दोलन, मधेस विद्रोहलगायतका विभिन्न समुदायगत आन्दोलनले प्राप्त गरेका उपलब्धिहरूको रक्षा र मजबुती गर्दै समावेशी, समानुपातिक, समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्नु आजको आवश्यकता हो। यस उद्देश्य प्राप्तिका लागि नेपालको कम्युनिष्ट तथा समाजवादी आन्दोलनका विभिन्न धारहरू एकताबद्ध भई बनेको नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण गर्ने निम्नानुसार सहमति भएको छः
१. विगतमा पार्टी र राज्यका विभिन्न निकायहरूमा जिम्मेवारी बहन गर्दै आए गरेका गलत र दुर्बल पक्षहरूको वस्तुगत समीक्षा गर्दै कमी कमजोरीहरू सच्याउने र सुशासन, समृद्धि र सामाजिक न्यायको माध्यमबाट समाजवादको दिशामा अगाडि बढ्ने।
२. मुलुकको सार्वभौमसत्ता, स्वाधीनता र अखण्डताको रक्षा गर्दै पहिचान र अधिकारसहितको सङ्घीय समाजवादी गणतन्त्र प्राप्तिको राजनीतिक लक्ष्य प्राप्तिका लागि सडक, सदन र सरकार तीनवटै क्षेत्रबाट संघर्षरत रहने।
३. समाजवादका लागि लोकतान्त्रिक मूल्य र मान्यता तथा सङ्घीय शासन प्रणाली, लोकतान्त्रिक मूल्य मान्यता, वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक विभेदको अन्त्य तथा समतामूलक, न्यायपूर्ण र विभेदरहित समाज निर्माण गर्ने कार्यको पहलकर्त्री र नेतृत्व गर्दै नेपाली विशेषताको समाजवादलाई पार्टीको कार्यक्रमको रूपमा अघि बढाउने र त्यसका आधारमा देशको सामाजिक–आर्थिक रूपान्तरणका लागि कटिबद्ध रहने।
४. पार्टीलाई सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्व तथा सहकार्यलाई आत्मसात् गर्दै जनवादी केन्द्रीयताको सहयोगात्मक पद्धतिअनुसार सञ्चालन गर्ने।
५. नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरणपश्चात् पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी र चुनाव चिन्ह तारा रहनेछ। दुबै पार्टीका संघ, प्रदेश र स्थानीय तहका सम्पूर्ण जनप्रतिनिधिहरू स्वतः नेपाली कम्युनिष्ट पार्टीका सदस्य हुनेछन्।
६. नागरिक उन्मुक्ति पार्टीका सांगठनिक संरचनामा रहेका केन्द्रीय समितिसहित मातहतका सम्पूर्ण समितिहरू र जनवर्गीय संगठनहरू आपसी सहमतिका आधारमा नेपाली कम्युनिष्ट पार्टीमा समायोजन गर्ने।
७. नेपालको वर्तमान संविधानका सकारात्मक पक्षहरूको रक्षा र सुदृढीकरण गर्दै शासकीय स्वरूप, निर्वाचन प्रणाली, सङ्घीय संरचनाको सबलीकरणलगायतका विषयमा नवयुग पुस्ताको समग्र भावनाको आधारमा राष्ट्रको सर्वोपरि हितमा संविधान संशोधन र आवश्यक परिमार्जन गर्ने पहल गर्ने।
८. राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपले पछाडि परेका वा पारिएका महिला, थारू, मधेसी, आदिवासी जनजाति, खस, दलित, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक समुदाय, विभिन्न वर्ग पिछडिएका क्षेत्रलगायतका सीमान्तीकृत वर्ग र समुदायहरूलाई राज्यका सबै अङ्ग, नीति निर्माणमा समानुपातिक समावेशीकरणको प्रत्याभूति गराउने।
९. देशका श्रमिक वर्ग र उत्पीडित समुदायहरूको एकता जोड्दै समाजवादी क्रान्तिका लागि राष्ट्रिय शक्ति निर्माणका लागि पहल गर्ने।
१०. टीकापुर घटनाका सम्बन्धमा कुनै पनि व्यक्तिलाई प्रतिशोधका आधारमा लगाइएका मुद्दा खारेज गर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने पहल गर्ने।
उपयुक्त नीति, सिद्धान्त र विचारमा सहमत सम्पूर्ण राजनीतिक पार्टी, शक्ति र व्यक्तिहरू नेपाली कम्युनिष्ट पार्टीमा एकताबद्ध हुन हामी हार्दिक अनुरोध गर्दछौं।

