काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै यसको विकासमा निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
त्रिवेणी युवा क्लब बेँसीसहरको आयोजनामा बेँसीसहर नगरपालिका वडा नं ७, सहजीमा आजदेखि सुरु भएको ३३औँ त्रिवेणी कपको समापन कार्यक्रममा मुख्यमन्त्री पाण्डेले खेलकुद क्षेत्रको विकासले युवामा सकारात्मक असर पार्ने र स्थानीय स्तरमा पर्यटन र आम्दानी वृद्धि हुने उल्लेख गर्नुभयो।
मुख्यमन्त्री पाण्डेले लमजुङको सहजी खेलमैदान व्यवस्थित गर्न प्रदेश सरकारले बजेट उपलब्ध गराउने पनि घोषणा गर्नुभयो। साथै उहाँले पछिल्लो समयमा युवा पुस्ताले सामाजिक सञ्जालदेखि अन्य ठाउँमा मनलाग्दी बोल्दा समाजमा नकारात्मक असर पर्न सक्ने भएकाले होसपूर्वक मात्र विषयवस्तु तयार गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा गण्डकी प्रदेशका वनमन्त्री भेषबहादुर पौडेल, प्रदेशसभा सदस्य पार्वती तामाङ, बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, संविधानसभा सदस्य जमिन्द्रमान घले लगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।

