काठमाडौं । राष्ट्रियसभाका १९ जना सांसदको कार्यकाल आगामी फागुनमा सकिँदैछ। तीमध्ये १८ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुने निर्वाचन आयोगले मिति तोकेको छ भने एक जना सांसद राष्ट्रपतिबाट मनोनित हुनेछन्।
आगामी फागुन २० गतेदेखि एमालेका आठ, नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) का आठ, जनता समाजवादी पार्टीका एक, लोकतान्त्रिक समाजवादी पार्टीका एक तथा एक मनोनित सांसदको कार्यकाल सकिन लागेको हो। रिक्त हुन लागेकामध्ये वामदेव गौतम राष्ट्रपतिबाट मनोनित सांसद हुन्।
कार्यकाल सकिएर बिदा हुन लागेका अन्य सांसदमा नेकपाका नारायणकाजी श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, राधेश्याम पासवान र बेदुराम भुसाल छन्। भुसाल तत्कालीन एकीकृत समाजवादीबाट राष्ट्रियसभामा पुगेका हुन् भने बाँकी सात जना तत्कालीन माओवादी केन्द्रका सांसद हुन्।
त्यसैगरी एमालेबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरेका इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसीको पनि कार्यकाल सकिँदैछ। जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको कार्यकाल पनि समाप्त हुन लागेको छ।
सरकारले माघ ११ गते आइतबारलाई राष्ट्रियसभाको निर्वाचन मिति तोकेको हो। राष्ट्रियसभाका कुल ५९ सदस्यमध्ये १८ सदस्यका लागि निर्वाचन हुन लागेको छ। भोलि (बुधबार) राष्ट्रियसभाका लागि उम्मेदवारी दर्ताको कार्यतालिका छ।
कांग्रेस, एमाले, नेकपासहितका दलहरू सिट बाँडफाँट गरी १८ सिटमा प्रतिस्पर्धा गर्ने तयारीमा जुटेका छन्। कार्यकाल सकिन लागेका सांसदहरूमा कांग्रेसका एक जना पनि छैनन्। यद्यपि, कांग्रेस अहिले मतभारका हिसाबले सबैभन्दा अगाडि रहेको छ। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने संवैधानिक व्यवस्था छ।
रिक्त हुन लागेका १८ सिटमध्ये कांग्रेसले ७ सिटमा दाबी गर्दै एमाले र नेकपासँग सहकार्यको प्रस्ताव गरेको छ। त्यस्तै, उसले एमालेलाई ६, नेकपालाई ४ र उपेन्द्र यादव नेतृत्वको जसपालाई १ सिट दिने प्रस्ताव गरेको बताइएको छ।
यसैबीच, गएको आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा सहकार्यका विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए। पछिल्लो समय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखकलगायत नेताहरू एमाले र नेकपासँग चुनावी तालमेलका लागि सक्रिय देखिएका छन्।

