काठमाडौं । गृह मन्त्रालयले आठ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। सरुवासँगै डोल्पा र बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन भएका छन्।
मन्त्रालयका अनुसार डोल्पाको प्रमुख जिल्ला अधिकारीका रूपमा जुनु हमाल ढकाललाई सरुवा गरिएको छ भने बझाङको प्रमुख जिल्ला अधिकारीमा मुकेशकुमार केशरीलाई खटाइएको छ।
यसैगरी, अन्य पाँच जना उपसचिवलाई विभिन्न जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) का रूपमा पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ। बाग्लुङमा सहायक सिडिओका रूपमा कार्यरत उपसचिव जनकराज पन्तलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।
गृह मन्त्रालयले प्रशासनिक कार्यसम्पादनलाई प्रभावकारी बनाउन उपसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको जनाएको छ।

