काठमाडौं । भरतपुर महानगरपालिका–२९, सिमलतालस्थित त्रिशूली नदीमा डेढ वर्षअघि खसेको गणपति डिलक्स बस फेला परेको छ। आइतबार बिहान बसको केही भाग देखिएपछि प्रहरीले तीन दिनसम्म उत्खनन गर्दा उक्त बस सिमलताल दुर्घटनामा परेको गणपति डिलक्स नै भएको पुष्टि गरेको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।
२०८१ असार २८ गते एन्जल डिलक्स र गणपति डिलक्स बस लेदोसहितको पहिरोमा बगेर त्रिशूलीमा खसेका थिए। दुवै बसमा सवार ६५ यात्रुमध्ये ३ जना ज्यान जोगाउन सफल भएका थिए। दुर्घटनापछि १९ यात्रुको शव फेला परेको थियो भने ४३ यात्रु अझै बेपत्ता छन्।
दुर्घटनापछि नेपाली सुरक्षा निकायसँगै भारतको एनडिआरएफ टोलीले पनि खोजी गरेको थियो। सरकारद्वारा बेपत्तालाई मृतक सरह राहत उपलब्ध गराइएको छ।

