काठमाडौं । भुजुङ्ग हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ। कम्पनीले दोस्रो चरणअन्तर्गत ८ लाख ३० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो।
यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्काशन गरिसकेको कम्पनीले यसपटक कर्मचारीका लागि २० हजार र सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता सुरक्षित राखेको छ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यो निष्काशन छिटोमा माघ १५ गते र ढिलोमा माघ २६ गतेसम्म बन्द हुनेछ।
इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस’ प्रदान गरेको छ, जसले लगानीमा उच्च जोखिम रहेको संकेत गर्दछ। ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजना सञ्चालन गरिरहेको यस कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

