काठमाडौं । नेपाली बजारमा लगातार नयाँ रेकर्ड बनाउँदै आएको सुनको भाउ आइतबार एकाएक घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १८ हजार ८ सय रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ लाख रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार सुनको भाउ एकैदिन प्रतितोला २० हजार ५ सय रुपैयाँले बढ्दै ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। केही दिनमै सुनको मूल्यमा ठूलो उतार–चढाव देखिएको छ।
सुनसँगै चाँदीको भाउ पनि आइतबार घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेर ५ हजार ५ सय रुपैयाँ कायम भएको छ।
यसअघि शुक्रबार चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभाव, अमेरिकी डलरको उतार–चढाव तथा लगानीकर्ताको धारणा परिवर्तनका कारण सुनचाँदीको मूल्यमा अस्थिरता देखिएको व्यवसायीहरू बताउँछन्।

