काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गर्दै शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ।
कांग्रेस केन्द्रीय समिति बैठकपछि प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमार्फत देउवाको स्वास्थ्यलाभको कामना गर्दै लोकतान्त्रिक आन्दोलन तथा पार्टी निर्माणमा उनले पुर्याएको योगदानको सम्मान गरिएको हो।
कांग्रेसले विशेष महाधिवेशनमार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्न देउवाले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।
पार्टीका अनुसार लामो समयदेखि विधि र पद्धति स्थापनाका लागि संघर्ष गरेका देउवाले बदलिएको परिस्थितिअनुसार पार्टीलाई थप गतिशील र समयसापेक्ष बनाउन आफ्नो अनुभव प्रयोग गर्ने अपेक्षा गरिएको छ।
विज्ञप्तिमा विशेष महाधिवेशनबाट पार्टीमा भएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै संगठनलाई थप सुदृढ बनाउन निवर्तमान सभापतिका रूपमा देउवाको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिएको छ।
कांग्रेसले देउवाको नेतृत्वमा भएका लोकतान्त्रिक आन्दोलन तथा पार्टी निर्माणका विभिन्न चरणमा उनले पुर्याएको योगदानको समेत स्मरण गरेको छ।
बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई समयसापेक्ष, गतिशील र प्रभावकारी बनाउन देउवाको अनुभव र अभिभावकीय भूमिका उपयोगी हुने कांग्रेसको निष्कर्ष छ।
स्वास्थ्य उपचारका लागि केही समय विदेशमा रहेका देउवा स्वदेश फर्किएपछि कांग्रेसले औपचारिक रूपमा स्वागत गर्दै उनको स्वास्थ्यप्रति शुभेच्छा व्यक्त गरेको हो।

