काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास वितरणमा अनियमितता भएको आशंका भए संसदीय समितिले स्थलगत छानबिन गर्न आग्रह गरेकी छन्।
बुधबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसद तथा उपभोक्ता प्रतिनिधिहरूले ग्यास वितरणमा समस्या रहेको र पाँचतारे होटललगायतका ठूला होटललाई ग्यास उपलब्ध गराएर सर्वसाधारण उपभोक्तालाई अभाव सिर्जना गरिएको आरोप लगाएपछि मन्त्री कुमारीले यस्तो आग्रह गरेकी हुन्।
मन्त्री कुमारीले उपभोक्ता मञ्च, संसदीय समितिका सदस्य र मन्त्रालयका प्रतिनिधि सम्मिलित टोली बनाएर पाँचतारेसहित अन्य होटलमा संयुक्त अनुगमन गर्न सुझाव दिइन्। अनुगमनका क्रममा देखिएका तथ्य लिखित रूपमा मन्त्रालयलाई उपलब्ध गराउनसमेत उनले आग्रह गरिन्।
उनले ग्यासको प्रयोग तथा वितरणबारे वास्तविक अवस्था सार्वजनिक गर्न आवश्यक रहेको बताउँदै अनुगमनको काम तत्काल सुरु गर्न आग्रह गरिन्।
ग्यास वितरणलाई सहज बनाउन टेकुसहित पाँच स्थानबाट ग्यास उपलब्ध गराइएको जानकारी दिँदै मन्त्री कुमारीले उपभोक्ताका गुनासा समाधान गर्न मन्त्रालयले निरन्तर पहल गरिरहेको बताइन्।
आफू जनताको सेवक भएर काम गर्न आएको उल्लेख गर्दै उनले इमानदारी र काममा कुनै सम्झौता नगर्ने दाबी गरिन्। ग्यास अभाव भएका परिवारबारे जानकारी प्राप्त भए तत्काल सिलिन्डर उपलब्ध गराउन मन्त्रालय र नेपाल आयल निगम तयार रहेको उनको भनाइ छ।
मन्त्री कुमारीले सांसदहरूलाई समेत आफ्नो क्षेत्रमा ग्यास अभाव भए जानकारी गराउन आग्रह गरे पनि हालसम्म त्यस्तो माग नआएको बताइन्।

