चितवन । नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि निश्चित समयका लागि आंशिक रूपमा बन्द हुने भएको छ। तुइन खोलामा पहिरो रोकथाम तथा व्यवस्थापनको काम गर्नुपर्ने भएकाले सडकमा सवारी आवागमन रोकेर काम गर्न लागिएको हो।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको सूचनाअनुसार कृष्णभीरमा सडक मर्मत भइरहेका बेला त्यसको सदुपयोग गर्दै तुइन खोला परियोजनाअन्तर्गत माटो कटान तथा पहिरो व्यवस्थापनको काम गरिनेछ।
कृष्णभीरको सडक मर्मत सम्पन्न भई नियमित रूपमा सवारी सञ्चालनमा नआएसम्म तुइन खोलामा उक्त काम जारी रहने प्रशासनले जनाएको छ।
तुइन खोलामा पटक–पटक पहिरो झर्ने भएकाले सम्भावित रूपमा खस्न सक्ने माथिल्लो भागको माटो तथा ढुंगा पन्छाउने र पहिरो व्यवस्थापन गर्ने उद्देश्यले सडक आंशिक रूपमा बन्द गर्न लागिएको हो।
प्रशासनका अनुसार काम भइरहेका बेला निश्चित समयमा भने सवारीसाधन सञ्चालनका लागि सडक खुला गरिनेछ। बिहान ८ बजेदेखि ८ः३० बजेसम्म, १०ः३० बजेदेखि ११ बजेसम्म, दिउँसो १ बजेदेखि १ः३० बजेसम्म, ३ः५० बजेदेखि ४ बजेसम्म र साँझ ६ बजेपछि सवारीसाधन सञ्चालन गरिनेछ।
यीबाहेकका समयमा तुइन खोलाको क्षेत्रमा सवारीसाधन रोकेर माटो कटान, पहिरो व्यवस्थापन तथा जोखिम न्यूनीकरणको काम गरिने प्रशासनले जनाएको छ।
सडक बन्द हुने समयलाई ध्यान दिँदै नारायणगढ–मुग्लिन सडक हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई आवश्यक सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।

