शर्मिला विश्वकर्मा
ललितपुर । ललितपुरको धापाखेलस्थित मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपाल (Self-help Group for Cerebral Palsy Nepal) ले मस्तिष्क पक्षाघात (Cerebral Palsy) भएका बालबालिका तथा वयस्कहरूको पुनर्स्थापना र स्याहार सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले नवनिर्मित पूर्वाधार तथा नयाँ उपकरणहरूको उद्घाटन एवं हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।
भदौ १९ गते आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा रोटरी डिस्ट्रिक्ट गभर्नर विष्णु कार्कीले नवनिर्मित पूर्वाधार तथा उपकरणहरूको रिबन काटेर उद्घाटन गर्नुभयो। उहाँले मस्तिष्क पक्षाघात भएका बालबालिकाको जीवनस्तर सुधारका लागि संस्थाले गर्दै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा आवश्यकताअनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
रोटरी क्लब अफ एडिनबर्गको नेतृत्व तथा रोटरी क्लब अफ लियोन, रोटरी क्लब अफ लुजर्न, रोटरी क्लब अफ टुरिन, रोटरी क्लब अफ बार्सिलोना र रोटरी क्लब अफ स्टुटगार्टसहित पाँच अन्तर्राष्ट्रिय रोटरी क्लबको सहयोगमा विभिन्न भौतिक सुविधा तथा उपकरण हस्तान्तरण गरिएको हो।
रोटरी क्लब अफ काठमाडौं मीड-टाउनको समन्वयमा प्राप्त सहयोगअन्तर्गत १४ प्रकारका अत्याधुनिक जिम उपकरण, सेड विस्तार निर्माण तथा डिजिटल क्षमता अभिवृद्धिका लागि सात थान कम्प्युटर र दुई थान प्रिन्टर उपलब्ध गराइएको छ।
यसैगरी, ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडको वित्तीय सहयोगमा मस्तिष्क पक्षाघात भएका बालबालिका तथा वयस्कहरूका लागि संस्थाको परिसरमा ‘जिम हल’ निर्माण गरिएको छ। जिम हल निर्माणमा ओरिएन्टल इन्स्योरेन्सका उप-प्रमुख कार्यकारी अधिकृत सिरिशा मारुजोला, वरिष्ठ डिभिजनल म्यानेजर मानबहादुर ढकाल तथा म्यानेजर सूर्यकृष्ण मानन्धरको योगदान रहेको भन्दै संस्थाले विशेष आभार व्यक्त गरेको छ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील मान सिंह प्रधानले करिब चार दशकदेखि मस्तिष्क पक्षाघात भएका बालबालिका तथा व्यक्तिहरूको जीवनस्तर सुधारका लागि संस्था निरन्तर क्रियाशील रहेको बताउनुभयो। उहाँले पुनर्स्थापना भनेको थेरापी वा औषधि उपचारमा मात्र सीमित नभई आत्मसम्मान, समावेशिता, अवसर, आत्मनिर्भरता र आशाको यात्रा भएको धारणा व्यक्त गर्नुभयो।
उहाँले मस्तिष्क पक्षाघात भएका बालबालिका तथा व्यक्तिहरूको सहज जीवनका लागि सहयोग गर्ने सबै व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्नुभयो।
संस्थाको स्थापना कालदेखि नै निरन्तर मार्गदर्शन तथा सहयोग पुर्याउँदै आउनुभएकी वरिष्ठ सल्लाहकार डा. चन्द्रलेखा तुलाधर, रोटरी क्लब अफ काठमाडौं मीड-टाउनका पदाधिकारी, रोट्रयाक्ट क्लब, अभिभावक तथा कर्मचारीहरूप्रति पनि संस्थाका तर्फबाट विशेष धन्यवाद ज्ञापन गरिएको थियो।
कार्यक्रममा संस्थाकी टेक्निकल डाइरेक्टर डा. प्रज्ञा कर्माचार्यले मस्तिष्क पक्षाघात भएका बालबालिका तथा व्यक्तिहरू र तिनका परिवारलाई संस्थाले थेरापी, शिक्षा तथा समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
कार्यक्रममा रोटरी क्लब अफ काठमाडौं मीड-टाउनकी अध्यक्ष कल्पना पराजुली, ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रतिनिधि, रोटरियन, रोट्रयाक्ट क्लबका प्रतिनिधि तथा एसजीसीपी परिवारका सदस्यहरूको उपस्थिति थियो।

