काठमाडौं । भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीले रसुवा, नुवाकोट र धादिङका विद्यालयमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण विद्यालय भवन, शैक्षिक संरचना र शैक्षिक गतिविधि प्रभावित हुँदा करिब १० हजार बालबालिकाको पढाइ प्रभावित भएको शिक्षा मन्त्रालयले जनाएको छ।
शिक्षा मन्त्रालयको प्रारम्भिक विवरणअनुसार तीन जिल्लाका १९ विद्यालयमा प्रत्यक्ष क्षति पुगेको छ। तीमध्ये १० विद्यालय पूर्ण रूपमा र ९ विद्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।
पूर्ण रूपमा क्षति भएका विद्यालयमध्ये ८ सामुदायिक र २ संस्थागत विद्यालय छन्। त्यस्तै, आंशिक क्षति भएका विद्यालयमा ४ सामुदायिक र ५ संस्थागत विद्यालय रहेका छन्।
मन्त्रालयका अनुसार यो प्रारम्भिक विवरण मात्रै हो। वास्तविक क्षतिको अवस्था यकिन गर्न मन्त्रालयको टोली प्रभावित क्षेत्रमा पुगेर स्थलगत अनुगमन तथा अभिलेख रुजु गरिरहेको छ।
३२ विद्यालयको पठनपाठन प्रभावित
बाढीबाट क्षति पुगेका कतिपय विद्यालय तत्काल सञ्चालन गर्न सकिने अवस्थामा छैनन्। कतिपय विद्यालयको संरचना नै बगाएको छ भने केही विद्यालयमा भग्नावशेष मात्रै बाँकी रहेको शिक्षा मन्त्रालयका सूचना अधिकारी वीरबहादुर धामीले बताएका छन्।
विद्यालय भवन जोगिएका ठाउँमा समेत तत्काल पठनपाठन सञ्चालन गर्न कठिन रहेको मन्त्रालयको भनाइ छ। बाढीबाट जोगिएका ८ विद्यालयमा अहिले आश्रयस्थल तथा होल्डिङ सेन्टर सञ्चालन भइरहेका छन्।
प्रत्यक्ष क्षति भएका १९ विद्यालयसँगै आश्रयस्थलका रूपमा प्रयोग भइरहेका ८ विद्यालय तथा मनोपरामर्श र हेल्थडेस्कलगायतका गतिविधि सञ्चालन भएका विद्यालयसमेत गरी कम्तीमा ३२ विद्यालय प्रभावित भएका छन्।
२५० बालबालिका र २० शिक्षक सम्पर्कविहीन
बाढीले विद्यालयका भौतिक संरचनामा मात्रै क्षति पुर्याएको छैन, विद्यार्थी र शिक्षकसमेत प्रभावित भएका छन्।
मन्त्रालयलाई प्राप्त प्रारम्भिक विवरणअनुसार करिब २५० बालबालिका सम्पर्कविहीन अवस्थामा छन्। त्यस्तै, १९ देखि २० जना शिक्षकसमेत सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ।
बाढीबाट प्रभावित बालबालिकाको मानसिक स्वास्थ्यसमेत अर्को चुनौती बनेको छ। शारीरिक रूपमा ठूलो चोट नलागेका बालबालिकासमेत विपद्का कारण मानसिक रूपमा प्रभावित भएको मन्त्रालयको आकलन छ।
त्यसैले विद्यालय पुनः सञ्चालन गर्नु मात्रै पर्याप्त नहुने मन्त्रालयको बुझाइ छ। प्रभावित बालबालिकालाई सामान्य अवस्थामा फर्काउन मनोसामाजिक परामर्शसँगै सिकाइलाई निरन्तरता दिने योजना अघि सारिएको छ।
१० हजारभन्दा बढी बालबालिकाको पढाइ प्रभावित
प्रारम्भिक विवरणअनुसार रसुवामा मात्रै करिब २०० देखि २५० बालबालिकाको सिकाइमा प्रत्यक्ष असर परेको छ। नुवाकोटमा विद्यालय तथा कलेजका संरचनामा क्षति पुगेकाले ठूलो संख्यामा विद्यार्थीको पढाइ प्रभावित भएको मन्त्रालयले जनाएको छ।
तीनवटै जिल्लाका विद्यालयमा गरी करिब १० हजारभन्दा बढी बालबालिकाको पठनपाठन प्रभावित भएको सूचना अधिकारी धामीले बताए।
विद्यालय तत्काल सञ्चालन गर्न सकिने अवस्थामा नरहेकाले सुरक्षित रहेका विद्यालयलाई आवासीय विद्यालय अर्थात् होस्टेलका रूपमा सञ्चालन गर्ने विकल्पमा समेत छलफल भइरहेको उनले जानकारी दिए।
प्रभावित बालबालिकालाई सुरक्षित विद्यालयमा राखेर पढाइलाई निरन्तरता दिन सकिने मन्त्रालयको बुझाइ छ। विपद्का कारण बालबालिकाको शिक्षा लामो समयसम्म अवरुद्ध हुन नदिन वैकल्पिक व्यवस्थाको तयारी भइरहेको छ।
उद्धारपछि ‘सिकाइ’ प्राथमिकतामा
बाढीपछि सरकारको पहिलो प्राथमिकता उद्धार र जीवनरक्षा थियो। उद्धारको काम क्रमशः सामान्य बन्दै गएपछि शिक्षा मन्त्रालयले प्रभावित बालबालिकाको सिकाइलाई प्राथमिकतामा राख्न थालेको छ।
शिक्षा विभागको नेतृत्वमा धादिङ, नुवाकोट र रसुवामा निर्देशकसहितको प्राविधिक टोली परिचालन गरिएको छ। गैरसरकारी संस्था, विकास साझेदार तथा अन्य सहयोगी संस्थाका प्रतिनिधिसमेत टोलीसँग समन्वय गरी काम गरिरहेका छन्।
स्थलगत टोलीले विद्यालयको भौतिक क्षतिसँगै विद्यार्थी, शिक्षक र शैक्षिक अभिलेखको अवस्थासमेत रुजु गर्नेछ। त्यसपछि कुन विद्यालय तत्काल सञ्चालन गर्न सकिन्छ, कहाँ वैकल्पिक सिकाइ केन्द्र आवश्यक छ र कहाँ आवासीय व्यवस्थामार्फत पठनपाठन अघि बढाउन सकिन्छ भन्ने टुंगो लगाइनेछ।
शिक्षा मन्त्रालयका सूचना अधिकारी धामीका अनुसार अबको प्राथमिकता उद्धारबाट सामान्यीकरण र सामान्यीकरणबाट सिकाइतर्फ अघि बढ्नु हो।
बाढीले विद्यालयका भवन भत्काए पनि बालबालिकाको पढाइ लामो समयसम्म रोकिराख्ने अवस्था आउन नदिने मन्त्रालयको लक्ष्य छ। त्यसका लागि सुरक्षित विद्यालयको उपयोगदेखि आवासीय व्यवस्थासम्मका विकल्प अघि सारिएका छन्।
विद्यालय पुनर्निर्माण गर्न समय लाग्न सक्ने भए पनि बालबालिकाको सिकाइमा लामो अवरोध हुँदा उनीहरूको भविष्यमा थप क्षति पुग्न सक्ने भएकाले वैकल्पिक माध्यमबाट भए पनि पठनपाठनलाई निरन्तरता दिनुपर्ने मन्त्रालयको जोड छ।

