- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा राहत कोषमा हाल १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको छ।
- सरकारले कोषबाट यसअघि नै बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ।
- नौ वाणिज्य बैंकमा ११ अर्ब १४ करोड रुपैयाँभन्दा बढी र दुई बैंकका डलर खातामा २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर रहेको छ।
रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सरकारी कोषमा आर्थिक सहयोग जुट्ने क्रम बढेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सम्बन्धित कोषमा हाल १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको छ।
सरकारले कोषमा जम्मा भएको रकममध्ये यसअघि नै एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न नौ वाणिज्य बैंकमा रहेका खातामा कुल ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ जम्मा भएको छ।
त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा कुल २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर मौज्दात रहेको कार्यालयले जनाएको छ।
भोटेकोसी बाढीपछि प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि बैंक तथा वित्तीय संस्था, व्यावसायिक समूह, संघसंस्था तथा विभिन्न क्षेत्रबाट सरकारी कोषमा आर्थिक सहयोग उपलब्ध गराउने क्रम जारी छ।

