काठमाडौं । बालगायकका रूपमा चर्चामा आएका अशोक दर्जीले आफ्नो जीवन संघर्ष, आर्थिक अवस्था र आगामी यात्राबारे सामाजिक सञ्जालमार्फत भावुक धारणा सार्वजनिक गरेका छन्।
आइतबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै दर्जीले जीवनमा हार र जित दुवै भोगेको तथा विभिन्न कठिनाइका बीच आफू अगाडि बढिरहेको बताएका छन्। उनले आफूलाई समाजले दिएको माया र साथलाई सधैँ सम्झिरहने बताएका छन्।
‘आज म सडकको बच्चा सडकमै छु। मेरो यात्रा त्यस्तै नै छ। हार खान सिकेको छैन, आत्मबल छ, लडिराखेको छु,’ उनले लेखेका छन्।
सानै उमेरमा समाजबाट धेरै माया पाएको उल्लेख गर्दै उनले समाजले आफूबाट केही गर्ने अपेक्षा राखेको बताएका छन्। आफूले समाजले देखेको सपना पूरा गर्न र परिवार तथा भाइबहिनीलाई सहयोग गर्नुपर्ने जिम्मेवारी रहेको उनको भनाइ छ।
दसैँ–तिहार नजिकिँदै गर्दा खर्च कसरी चलाउने र आगामी दिन कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता रहेको उनले बताएका छन्। पढ्ने उमेरमा पैसा कमाउने चाहना र बाध्यता दुवै महसुस हुने गरेको उनको भनाइ छ।
आफू गरिब परिवारमा जन्मिएकोमा दुःखी नभएको उल्लेख गर्दै दर्जीले गरिब हुनु कसैको गल्ती नभएको बताएका छन्।
‘म गरिबको छोरा हो भनेर मलाई दुःख छैन, किनभने गरिब हुनु हाम्रो गल्ती होइन। यो त सबैको आफ्नो–आफ्नो भाग्य हो,’ उनले लेखेका छन्।
उनले कठिनाइका बीच पनि आफू संघर्ष गरिरहने र आफ्नै काम तथा गीतमार्फत अगाडि बढ्ने बताएका छन्। आगामी दिनमा आफ्ना नयाँ गीत तथा काम लिएर दर्शकमाझ आउँदा पनि विगतझैँ माया र साथ दिन उनले आग्रह गरेका छन्।
दर्जीले आफूलाई सहयोग गर्ने दर्शक, गुरु तथा परिवारप्रति आभार व्यक्त गरेका छन्। आफ्नो जीवनमा आफूबाट कुनै गल्ती भएको भए क्षमा गरिदिन पनि उनले आग्रह गरेका छन्।
‘अब चाहिँ म थाकिसकेँ, म धेरै नै थाकिसकेँ। अब मेरो लाइफलाई म स्ट्रेट तरिकाले लाग्ने छु,’ उनले लेखेका छन्।
आफ्नो वर्तमान आर्थिक अवस्थाबारे पनि उनले खुलाएका छन्। आफूखुमसँग पैसा वा बैंक ब्यालेन्स नरहेको बताउँदै उनले समाजको सहयोगबाट बनेको एउटा घर र कसैले दिएको अधियाँ जग्गा रहेको उल्लेख गरेका छन्।
उनले भविष्यमा आफ्नो जीवनमा पनि राम्रो समय आउने आशा रहेको बताएका छन्।
दर्जीले आफ्नो उक्त भनाइ कसैलाई दोष लगाउन वा नराम्रो भन्नका लागि नभएको स्पष्ट पारेका छन्। आफूबाट जानाजान वा अनजानमा कुनै गल्ती भएको भए माफी दिन र आफूले गर्ने कामलाई माया गर्दै निरन्तर साथ दिन उनले आफ्ना दर्शकसँग आग्रह गरेका छन्।
‘आज मैले मेरो मनको कुरा मात्र भनेको हुँ। मैले कसैलाई दोष दिन खोजेको होइन, न त कसैलाई नराम्रो भन्न खोजेको हुँ,’ उनले लेखेका छन्।

