काठमाडौं । हेटौंडाका ११ वर्षीय आर्मोन कार्की ‘द भ्वाइस किड्स सिजन–५’को ब्लाइन्ड अडिसन पार गर्दै नेक्स्ट राउण्डमा प्रवेश गरेका छन्।
ब्लाइन्ड अडिसनमा आर्मोनले स्वरसम्राट नारायण गोपालले लोकप्रिय बनाएको देशभक्तिपूर्ण गीत ‘वीरताको चिनो, वीरको सन्तान’ प्रस्तुत गरेका थिए। उनको सशक्त प्रस्तुति र स्वरले दर्शकसँगै कोचहरूलाई पनि प्रभावित बनाएको थियो।

प्रस्तुतिका क्रममा कोच मिलन नेवार र अर्जुन सापकोटाले आफ्नो कुर्सी फर्काउँदै उनलाई आफ्नो टोलीमा लिन इच्छा व्यक्त गरेका थिए। अन्ततः आर्मोनले टिम अर्जुन सापकोटा रोजेका छन्। कार्यक्रममा सहभागी सबै कोचहरूले उनको स्वर, आत्मविश्वास र प्रस्तुतिको खुलेर प्रशंसा गरेका थिए।
हाल कक्षा ६ मा अध्ययनरत आर्मोन सानैदेखि संगीतप्रति रुचि राख्दै आएका छन्। नर्सरी कक्षामै विद्यालयको सांस्कृतिक कार्यक्रममा ‘यो नेपाली शिर उचाली’ गीत प्रस्तुत गरेर उनले दर्शकको मन जितेका थिए। त्यसयता उनले विद्यालय, जिल्ला तथा प्रदेशस्तरीय विभिन्न गायन प्रतियोगितामा सहभागिता जनाउँदै अनेकौं पुरस्कार प्राप्त गरिसकेका छन्।
गायनसँगै आर्मोन गिटार, हार्मोनियम र पियानो बजाउन पनि दक्ष छन्। उनी चित्रकलामा समेत रुचि राख्छन् र नेपाली तथा भारतीय चर्चित गायक–गायिकाहरूका चित्र कोर्ने गर्छन्। संगीत क्षेत्रमा आफ्ना प्रेरणाका स्रोत आफ्नै बुवालाई मान्ने आर्मोनले नारायण गोपाल र भक्तराज आचार्यलाई आफ्नो आदर्शका रूपमा लिएका छन्।

यसपटक ‘द भ्वाइस किड्स’मा आर्मोनकी बहिनी आध्या कार्कीले पनि सहभागिता जनाएकी थिइन्। उनले नारायण गोपालको चर्चित गीत ‘यति धेरै माया दिई’ प्रस्तुत गरेकी थिइन्। उनी अर्को चरणमा छनोट हुन नसके पनि सबै कोचहरूले उनको गायन, स्वर र टाइमिङको प्रशंसा गरेका थिए।
आर्मोनका बुबा पेशाले शिक्षक र आमा नर्स हुन्। आफ्ना छोराछोरीमाथि कुनै पेशागत दबाब नदिई उनीहरूको रुचिअनुसार संगीत क्षेत्रमा अघि बढ्न परिवारले निरन्तर हौसला दिँदै आएको छ। बदलिँदो समाजमा बालबालिकाको प्रतिभा र चाहनालाई सम्मान गर्दै अभिभावकले कसरी साथ दिन सक्छन् भन्ने उदाहरणका रूपमा आर्मोनको परिवारलाई हेरिएको छ।
आफ्नो लक्ष्य ‘द भ्वाइस किड्स सिजन–५’को उपाधि जित्नु रहेको आर्मोनले आगामी चरणमा पनि उत्कृष्ट प्रस्तुति दिने तयारी गरेका छन्।

