काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई राष्ट्रपतिबाट दिइएको कैद माफीविरुद्ध दायर रिट खारेज गरेको छ। सर्वोच्चको यो फैसलासँगै चौधरीलाई दिइएको कैद माफी कायम भएको छ।
न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले मंगलबार रिट खारेज गरेको हो।
टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले चौधरीलाई राष्ट्रपतिबाट दिइएको कैद माफी बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा एक नाबालकसहित आठ जनाको मृत्यु भएको थियो। उक्त घटनामा चौधरीलाई अदालतले जन्मकैदको सजाय सुनाएको थियो।
गणतन्त्र दिवसका अवसरमा २०८० जेठ १५ गते तत्कालीन राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा चौधरीको बाँकी कैद माफी गरेका थिए। त्यसपछि उनी कारागारबाट रिहा भएका थिए।
राष्ट्रपतिबाट भएको कैद माफीविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले मंगलबार रिट खारेज गरेको हो। फैसलासँगै चौधरीलाई प्रदान गरिएको कैद माफीसम्बन्धी निर्णय कायम रहने भएको छ।

