दुबई– दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा ककपिटभित्रै पाइलटमाथि चक्कु प्रहार भएपछि विमानलाई साउदी अरेबियाको ताबुकमा आपत्कालीन अवतरण गराइएको छ । घटनापछि संयुक्त अरब इमिरेट्स (यूएई) ले घटनाको विस्तृत अनुसन्धान थालेको छ ।
फ्लाई दुबईको एफजेड१०७३ उडानमा भएको घटनाको कारण, परिस्थिति र उद्देश्य पत्ता लगाउन यूएईका महान्यायाधिवक्ता डा. हमाद सैफ अल–शम्सीले विशेष अनुसन्धान टोली गठन गरेका छन् । घटनामा आतंकवादी गतिविधि वा पूर्वयोजना संलग्न थियो कि थिएन भन्ने विषयसमेत अनुसन्धानको दायरामा राखिएको छ ।
उडानका क्रममा सह–पाइलटले भारतीय मूलका क्याप्टेन स्मित मच्छारमाथि चक्कु प्रहार गरेको प्रत्यक्षदर्शी यात्रुहरूले बताएका छन् । आक्रमणपछि विमान अचानक उचाइ गुमाउन थालेको थियो । फ्लाइटराडार–२४ का अनुसार करिब एक मिनेटको अवधिमा विमान झन्डै १७ हजार फिट तल झरेको थियो ।
घाइते अवस्थामा रहेका क्याप्टेन मच्छारले ककपिटको ढोका खोलेपछि केही यात्रु ककपिटभित्र प्रवेश गरी सह–पाइलटलाई नियन्त्रणमा लिएको बताइएको छ । यात्रुहरूको सहयोगमा विमानलाई सुरक्षित रूपमा साउदी अरेबियाको ताबुकमा अवतरण गराइएको थियो ।
उक्त उडानमा १७४ जना सवार रहेकोमा १६६ जना इजरायली नागरिक थिए । फ्लाई दुबईले सबै यात्रु सुरक्षित रहेको जनाएको छ । तर पाइलटबीच भएको झडपबारे एयरलाइन्सले अनुसन्धान भइरहेको भन्दै विस्तृत विवरण सार्वजनिक गरेको छैन ।
घटनापछि फ्लाई दुबईले इजरायल जाने तथा इजरायलबाट फर्किने सबै उडान अस्थायी रूपमा स्थगित गरेको जनाएको छ । साउदी अरेबियाले पनि विमानको आपत्कालीन अवतरणको घटनाबारे अनुसन्धान थालेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले क्याप्टेन मच्छार र यात्रुहरूको सक्रियताका कारण ठूलो दुर्घटना टरेको बताएका छन् । उनले घटनाको अनुसन्धान यूएईले नेतृत्व गर्ने र इजरायलले आवश्यक सहयोग गर्ने बताएका छन् ।
इजरायली अधिकारीहरूले घटनालाई आतंकवादी हमलाको प्रयासको रूपमा व्याख्या गरेका छन् । तर यूएईको अनुसन्धान पूरा नभएसम्म घटनाको उद्देश्य वा त्यसको प्रकृतिबारे अन्तिम निष्कर्षमा पुगिएको छैन ।

