जिल्ला प्रशासन कार्यालय धादिङले आइतबार सूचना जारी गर्दै सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मझिमटार क्षेत्रमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द रहने जनाएको छ ।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड), मुग्लिङ चितवनको सूचनाका आधारमा सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत सन्देश मास्केले जानकारी दिएका छन् ।
निर्माण कार्यलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न निर्धारित समयका लागि सवारी आवागमन रोक्न लागिएको प्रशासनले जनाएको छ ।
पृथ्वी राजमार्ग हुँदै काठमाडौं, चितवन, पोखरा तथा देशका विभिन्न गन्तव्यमा आवतजावत गर्ने सवारीसाधन प्रभावित हुने भएकाले यात्रुलाई समय व्यवस्थापन गरेर यात्रा गर्न प्रशासनले आग्रह गरेको छ ।
प्रशासकीय अधिकृत मास्केका अनुसार सडक बन्द रहने अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी सवारी सञ्चालन गर्न तथा अनावश्यक रूपमा बन्द हुने सडकखण्डमा नजान अनुरोध गरिएको छ ।
निर्धारित समयअनुसार दिउँसो २ बजेपछि भने उक्त सडकखण्डमा सवारी आवागमन पुनः सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

