काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सही समय आएपछि सबैको गलत समय आउने भन्दै एक–दुई जना उम्किन खोजेर नहुने चेतावनी दिएका छन्।
प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत कुनै विशेष प्रसंग उल्लेख नगरी यस्तो टिप्पणी गरेका हुन्। उनले लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’
पछिल्लो समय बिचौलियासँग न्यायाधीशहरूको सम्पर्क तथा मिडिया हाउसमा प्रहरी परिचालन गरिएको विषयलाई लिएर सरकारको आलोचना भइरहेको बेला प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो।
प्रधानमन्त्रीको उक्त स्टाटसमा उनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले पनि प्रतिक्रिया जनाएका छन्। उनले प्रधानमन्त्रीलाई ‘सही समय कहिले आउँछ ?’ भन्दै प्रश्न गरेका छन्।
बेनले आइतबार दिउँसो विभिन्न २८ जना पत्रकारको नाम उल्लेख गर्दै सामाजिक सञ्जालमा अर्को टिप्पणीसमेत गरेका थिए। उनले उक्त सूचीमा नपर्नेहरूलाई पनि पत्रकार मान्ने कि नमान्ने भन्ने आशयको प्रश्न उठाएका थिए।

