काठमाडौं । नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाइएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इन्जिनियर दीपककुमार साहको पहलमा नेपाल आयल निगमले विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका ग्यास उद्योगलाई गाभ्ने नीति कार्यान्वयनमा ल्याउन लागेको हो।
निगमले चालू आर्थिक वर्ष २०८३/८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ अनुसार ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने जनाएको छ।
यसैक्रममा निगमले २०८३ कात्तिक १२ गते सबै ग्यास उद्योगलाई पत्राचार गर्दै गाभ्ने प्रक्रियालाई प्रोत्साहन गर्न अनुरोध गरेको छ। साथै, सोही नीतिअनुसार आवश्यक कार्ययोजना तयार गरी प्रक्रिया अगाडि बढाउन उद्योगहरूलाई आग्रह गरिएको छ।
निगमको यस पहलले एलपी ग्यासको उत्पादन तथा बिक्री वितरण प्रणालीलाई थप व्यवस्थित, सहज र उपभोक्तामैत्री बनाउने अपेक्षा गरिएको छ।

