काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार आयोजित एक समारोहबीच नवनियुक्त तीनै जना राजदूतले शपथ ग्रहण गर्नुभएको हो।
शपथ ग्रहण गर्नेमा गणतन्त्र भारतका लागि डा. निश्चलनाथ पाण्डे, जनवादी गणतन्त्र चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेश कुमार कर्ण रहनुभएको छ।
राष्ट्रपति पौडेलसमक्ष उहाँहरूले राजदूत पदको पद तथा गोपनीयताको शपथ लिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।
उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

