काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नेपालले आर्थिक सहायता, ऊर्जा, व्यापार, हवाई सेवा, पूर्वाधार र उच्च शिक्षासहित विभिन्न क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको सरकारले जनाएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भएको भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार स्वदेश फर्किएका छन्। उनको स्वदेश फिर्तीपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणका उपलब्धिबारे जानकारी दिँदै भारतसँगको सम्बन्धलाई नयाँ आधारमा अघि बढाउने सहमति भएको बताए।
भ्रमणको सबैभन्दा ठूलो आर्थिक उपलब्धिका रूपमा भारतले नेपाललाई भारतीय रुपैयाँ १५ हजार करोड (नेपाली करिब २ खर्ब ४० अर्ब रुपैयाँ) बराबरको विकास सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यसमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ ऊर्जा परियोजनाका लागि ऋण सुविधाका रूपमा उपलब्ध हुनेछ।
नेपालले लामो समयदेखि उठाउँदै आएका व्यापार तथा पारवहनका विषयमा पनि सहमति जुटेको छ। अब नेपालले कोलकाता र विशाखापट्टनमबाहेक गुजरातको कान्डलास्थित दीनदयाल र ओडिशाको पारादीप बन्दरगाहसमेत प्रयोग गर्न पाउनेछ। यसले तेस्रो मुलुकसँगको व्यापारमा थप विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ।
हवाई सम्पर्क विस्तारतर्फ काठमाडौं–भैरहवा–लखनउ बी३४५ हवाई मार्गलाई दुवैतर्फी सञ्चालन गर्ने सहमति भएको छ। यसअघि एकतर्फी रहेको उक्त हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै देश सहमत भएका हुन्।
धार्मिक तथा सांस्कृतिक सम्बन्ध विस्तारका लागि जनकपुर–अयोध्या यात्रुवाहक रेल सेवाको संयुक्त उद्घाटन गरिएको छ। त्यस्तै, दार्चुला र धार्चुला जोड्ने मोटरेबल पुल उद्घाटन तथा बनबासामा एकीकृत जाँचचौकी निर्माणको शिलान्यास गरिएको छ।
ऊर्जा क्षेत्रमा इनरुवा–न्यू पूर्णिया र दोधारा–बरेली विद्युत् प्रसारण लाइन संयुक्त लगानीमा निर्माण गर्ने सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्याससमेत गरिएको छ। यसबाहेक मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालनमा आएको छ भने झापा–सिलिगुडी पेट्रोलियम पाइपलाइनको शिलान्यास भएको छ।
लामो समयदेखि अघि बढ्न नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम रूप दिन दुवै देशका सम्बन्धित निकायलाई निर्देशन दिने सहमति पनि भ्रमणका क्रममा भएको छ।
शिक्षा क्षेत्रमा नेपालमै भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस स्थापना गर्ने निर्णय भएको छ। यसले प्राविधिक शिक्षा, अनुसन्धान र नवप्रवर्तनमा सहकार्यको नयाँ सम्भावना खोल्ने सरकारको अपेक्षा छ।
भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती समझदारी प्रहरी अनुसन्धान तथा तालिम, प्रशासनिक क्षमता विकास, आयुर्वेद र परम्परागत चिकित्सा, स्याटेलाइट सञ्चार, दिगो सहरी विकास, स्वास्थ्य सेवा तथा पशुपालन र मत्स्यपालनसँग सम्बन्धित छन्।
दुवै देशले ‘विकसित भारत–समुन्नत नेपाल’ नामक संयुक्त दूरदृष्टि दस्तावेजसमेत जारी गरेका छन्। यसले ऊर्जा, भौतिक तथा डिजिटल सम्पर्क, जलवायु अनुकूलन, विपद् व्यवस्थापन, कृषि, पर्यटन, खेलकुद, स्टार्टअप र प्रविधिजस्ता क्षेत्रमा आगामी दिनमा सहकार्य गर्ने मार्गचित्र तय गरेको छ। यसका लागि आवश्यकताअनुसार पुराना सन्धि तथा सम्झौता पुनरावलोकन गर्न सकिने आधारसमेत बनेको परराष्ट्रमन्त्री खनालले बताए।
सीमा व्यवस्थापनका विषयमा पनि छलफल भएको छ। सीमा स्तम्भको संयुक्त निरीक्षण तथा मर्मतसम्भारको प्रगतिबारे समीक्षा गर्दै बाँकी सीमा समस्यामा काम गर्न दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिइएको छ।
यसैगरी, भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग प्रधानमन्त्री शाहले शिष्टाचार भेट गरेका थिए। भारतीय प्रधानमन्त्री मोदीसँग भएको द्विपक्षीय वार्तामा व्यापार, ऊर्जा, पूर्वाधार, कनेक्टिभिटी र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल भएको थियो।
परराष्ट्रमन्त्री खनालले यो भ्रमणलाई नेपाल–भारत सम्बन्धलाई परम्परागत सहयोगबाट परिणाममुखी साझेदारीतर्फ लैजाने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार भ्रमणबाट भएका सहमति कार्यान्वयनमा आए दुई देशका नागरिकले प्रत्यक्ष लाभ लिन सक्नेछन्।

