काठमाडौं । रौतहट गढिमाईमा शनिबार एक जनाको ज्यान जानेगरी भएको गोली प्रहार घटनामा संलग्न भएको आरोपमा प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ।
गढीमाई नगरपालिका –८ धोबिनियामा शनिबार बाटो विस्तार गर्ने क्रममा भएको विवादमा गोली चल्दा स्थानीय ५० वर्षीय रामकुमार राय यादवको मृत्यु भएको थियो।
गोली लागेर गम्भीर घाइते यादवको वीरगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। उनको शव अहिले पनि अस्पतालमै राखिएको छ। आफन्तले शव बुझेका छैनन्।
घटनामा संलग्न भएको आशंकामा गएराति सम्ममा गाउँका १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) उमाशंकर यादवले जानकारी दिए।
दुई पक्षबीच भएको झडपको क्रममा चारजना घाइते भएका छन्।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा स्थानीय रामसेवक राय, लालबाबु यादव, दिनेश यादव, मिथिलेश यादव, विनेश यादव, बच्चा गिरी, श्याम यादव, प्रदीप यादव, उमेश यादव लगायतलाई पक्राउ गरेको छ।