काठमाडौं । खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री अधिकारीले विश्वासको मत प्राप्त गर्न नसकेसँगै उनी नेतृत्वको प्रदेश सरकार ढलेको हो ।
विश्वासको मत पाउँ भनि प्रदेश सभामा राखेको प्रस्तावको पक्षमा २४ मत पर्यो भने विपक्षमा ३५ सांसदहरू उभिए । ६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री अधिकारीलाई सरकारलाई निरन्तरता दिनका लागि ३१ सांसदहरूको समर्थन चाहिन्थ्यो । तर, उनको प्रस्तावको पक्षमा २४ जनामात्रै सांसदहरू उभिए । बैठकमा ५९ सांसदहरूको उपस्थिति रहेको थियो ।
अधिकारी नेतृत्वको सरकार ढलेसँगै गठबन्धनलाई नयाँ सरकार गठनको बाटो खुलेको छ । अब त्यहाँ केन्द्रीय गठबन्धनअनुसारको सरकार गठन हुनेछ । मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता हरिबहादुर चुमान र नेपाली कांग्रेसका संसदीय दलका नेता राजेन्द्र राज पाण्डेले आलोपालो गर्ने सहमति भइसकेको नेताहरूले बताएका छन् ।