काठमाडौं । पाठ्यक्रम विकास केन्द्र सानोठिमीले पूर्व प्राथमिक तहका पाठ्यपुस्तक स्वीकृति लिएर मात्र पठनपाठन गराउन निर्देशन दिएको छ ।
एक सूचना जारी गरेर केन्द्रले पाठ्यपुस्तकको गुणस्तर कायम गरी एकरुपता कायम गर्ने उद्देश्यले स्वीकृतिपछि मात्रै पठनपाठन गराउन निर्देशन दिएको हो ।
गएको वैशाख २० गते बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले विद्यालय तहका अन्य पाठ्यसामग्रीसरह पूर्व प्राथमिक तहमा प्रयोग हुने पाठ्यसामग्री पनि मूल्याङ्कन गरेर स्वीकृति गर्ने निर्णय गरेको थियो ।
सोही आधारमा पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिकसत्र २०८१ देखि पूर्वप्राथमिक तहमा प्रयोग हुने पाठ्यसामग्री केन्द्रमा पेस गरी मूल्याङ्कन गरेर स्वीकृत पाएपछि मात्र छपाइ तथा बिक्री वितरण गर्न निर्देशन दिएको हो ।
यसअघि पूर्व प्राथमिक तहमा केन्द्रको मूल्याङ्कनबिना नै पाठ्यसामग्री प्रयोग हुँदै आएको जनाइएको छ । यसअघि प्रयोगमा आइसकेका पाठ्यसामग्रीसमेत मूल्याङ्कनका लागि पेस गर्न र स्वीकृति भएपछि मात्र प्रयोगमा ल्याउन केन्द्रले अनुरोध गरेको छ ।