काठमाडौं । भारतको ४ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बिहीबार महत्त्वपूर्ण भेटवार्ता तथा कार्यक्रममा सहभागी हुँदैछन्।
भारतको औपचारिक भ्रमणमा बुधबार नयाँ दिल्ली आइपुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री प्रचण्ड बिहीबार बिहानै दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधीस्थल पुग्नेछन्। त्यहाँ गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेपछि उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। भेटवार्तालगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने छ । त्यसक्रममा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची छ ।
ऊर्जा, ऊर्जा व्यापार, वाणिज्य, हवाईमार्गलगायत विषयमा महत्वपूर्ण छलफल हुने र आवश्यक सहमति गर्ने तयारी छ । यस्तै केही आयोजनाको उद्घाटन र शिलान्यासको कार्यक्रम छ । त्यसका लागि आवश्यक तयारी भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
द्विपक्षीय छलफल र भेटवार्तालगत्तै हैदरावाद हाउसमै दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री दाहालको सम्मानमा आजै भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना गरेका छन् ।
प्रधानमन्त्रीस्तरीय छलफल र पत्रकार सम्मेलनपछि आजै प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ ।
बुधबार भारत पुगेका प्रधानमन्त्रीले भ्रमणको पहिलो दिन प्रधानमन्त्री प्रचण्डसँग भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभाले शिष्टाचार भेटवार्ता गरेका थिए। साथमा भारतीय विदेश सचिव विनयमोहन क्वात्रासमेत सहभागी थिए।