काठमाडौं । सत्तारूढ गठबन्धनको बैठकले कोशी प्रदेशमा सरकार गठनका लागि सभामुखसहित ४७ सांसदको हस्ताक्षर बुझाउने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीबार) बिहान बसेको सत्तारूढ ७ दलको बैठकले त्यसे निर्णय गरेको हो। उक्त प्रदेशमा नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने गरी दाबी पेस गर्ने निर्णय गरेको हो। बैठकले सरकार गठनका लागि ४७ सांसदको समर्थन बुझाउन कांग्रेस संसदीय दलका नेता उद्धव थापा, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बो र नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई निर्देशन दिएको हो।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डे, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, कांग्रेस उपसभापति तथा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, माओवादी केन्द्रका महासचिव देव गुरूङ र प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए।
कोशी प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि दिएको समयसीमा आजै सकिँदैछ। कोशी प्रदेशको सरकार गठनलाई लिएर केही द्विविधा र असमझदारी देखिए पनि ४७ जना सांसदको हस्ताक्षर बुझाइहाल्न निर्देशन दिएको बैठकपछि उक नेताले बताए। बैठकले मिटरब्याजीसम्बन्धी विधेयक ल्याउने निर्णय पनि गरेको छ।
बैठकले एमालेसहितका प्रतिपक्षी दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जवाफको मौका नै नदिई राजीनामा माग्दै संसद बैठक अवरूद्ध गर्नु संसदीय मूल्यविपरीत रहेको निष्कर्ष निकालेको एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए।