काठमाडौं । विशेष अदालतले कैलालीको साविक नारायणपुर–८ स्थित १५ बिघा सरकारी जंगल व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा ८ जना दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुवर र न्यायाधीशहरू मुरारीवावु श्रेष्ठ र विदुर कोइरालाको इजलासले प्रतिवादी ८ मध्ये ४ जनालाई मुख्य अभियुक्त र ४ जनालाई मतियार ठहर गरेको छ ।
फिल्डबूकमा जंगल कायम भएको जग्गा कर्मचारी भूमाफियाको मिलोमतोमा २०६८ सालमा कित्ताकाट गरी व्यक्तिको नाममा कायम गरेकोमा त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा दायर गरेको मुुद्दामा सोमबार फैसला गर्दै ८ जनालाई दोषी ठहर गर्दै कैद सजाय सुनाएको छ ।
विशेषले तत्कालीन मालपोत प्रमुख मोहन बहादुर स्नेही रसाइलीलाई १ वर्ष, नापी कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मानबहादुर चन्दलाई ९ महिना, सर्वेक्षकहरू अग्निबहादुर शाही र दशरथ मण्डललाई जनही ६ महिना कैद सजाय सुनाएको विशेष अदालतका प्रवक्ता यज्ञराज जोशीले जानकारी दिए ।
मतियारको रूपमा विन्द्रा रावल, कमलबहादुर रावल, शुसिलबहादुर रावल र विमल रावललाई ६ महिना कैद हुने फैसला सुनाएको छ । रावल जेष्ठ नागरिक भएकाले ७५ प्रतिशत कैद कट्टा भई १ महिना १५ दिन मात्र कैद बसे पुग्ने जनाइएको छ ।