काठमाडौं । नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार सामान्य अंक बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
यस दिन नेप्से परिसूचक १.८६ अंक बढेर २६८५.७३ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.२५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ७ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०७ स्टकको ८२ हजार ८०५ पटकको कारोबारमा ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार रुपैयाँबराबरको १ करोड ५५ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ४० रुपैयाँ बढेर ४४० रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन रिभर फल्स पावरको शेयरमूल्य ८ प्रतिशत बढेको छ भने न्यादी हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ। यस दिन दुई स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन उपकार लघुवित्त वित्तीय संस्था र सुपर मादी हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।