काठमाडौं । तनहुँ आँबुखैरेनी गाउँपालिकाले ऐनापहरा उद्यानबाट सात महिनामा ३० लाख बढी आम्दानी गरेको छ । साउनको पहिलो सातादेखि संचालनमा ल्याइएको यस ऐनापहराबाट माघ मसान्तसम्मको अवधिमा उक्त रकम आम्दानी गरेको हो ।
पृथ्वीराजमार्गको छेउमै रहेको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरामा पर्यटन प्रबद्र्धन गर्न गाउँपालिकाले रु.दुई करोड लगानी गरिसकेको छ । यस पहरामा रहेका ढुंगालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाइएको छ । झरना झरेको ठाउँको ढुंगामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुंगामा आमा र बच्चा तथा परीको आकर्षक आकृतिले पर्यटकलाई मुग्ध बनाउने गरेको छ ।
उक्त स्थानमा पुग्ने जो कोही व्यक्ति आनन्दको महसुस गर्छन् । यहाँ निर्माण गरिएका आकर्षक मूर्ति र आकृतिले लठ्ठ हुन्छन् भने कोही टिकटक बनाउनमा व्यस्त हुने गर्छन् ।
दैनिक तीन सयदेखि चारसयसम्म आन्तरिक पर्यटकहरु आउने गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए ।
बिदाका दिनमा र शैक्षिक भ्रमणमा आउने विद्यार्थीको चाप बढी हुने गरेको छ । उद्यान प्रवेशमा स्थानीयलाई रु.५०,विद्यार्थीलाई रु.३० र अन्य पालिका र बाह्य पर्यटकका लागि रु.१०० प्रवेश शुल्क कायम गरिएको छ ।
गाउँपालिकाले फोहोर व्यवस्थापनसहित चार जना कर्मचारी खटाएको छ । बिदाका दिनमा आन्तरिक पर्यटकको अझ बढी घुइँचो लाग्ने गरेको छ । पर्यटकको आवागमनले पार्किङ क्षेत्रमा असुविधा हुने गरेकाले त्यसलाई मध्यनजर गर्दै थप पार्किङको व्यवस्था गरिएको उनले बताए ।
पृथ्वीराजमार्गसँगै रहेको ऐनापहरा झरनासहितको उद्यानले आन्तरिक पर्यटकको ध्यान खिच्ने गरेको छ । गर्मीको समयमा झरनामा रमाउँदै गर्मी छल्न आउने पर्यटकको घुइँचो लाग्ने गरेको थियो । पछिल्लो समय यो ठाउँ पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रीको समेत आकर्षक गन्तव्यस्थल बन्ने गरेको छ ।
गर्मी मौसममा यात्रा गर्नेलाई विश्रामस्थलका रूपमा यो ठाउँ विकास भइरहेको छ भने अन्य समयमा उद्यानमा घुम्न आउने गरेका छन् । राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीयस्थलका रूपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षकका लागि उद्यान निर्माण गरिएको हो ।
ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न लागिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । यस पहरामा रहेका ढुंगामा आकृति खोपेपछि यस ठाउँमा घुम्न आउनेको पर्यटकको संख्या बढेको छ ।
तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढीखोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन समेत तयार गरेको छ ।
उक्त स्थानलाई व्यवस्थित गर्न डीपीआर भएअनुसार १० करोड रुपैयाँ बजेट आवश्यक पर्छ । डीपीआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायत संरचना निर्माण गर्ने उल्लेख गरिएको छ ।