काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले १ साउनदेखि प्रदेश सरकारले नै सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ गर्ने बताएका छन् ।
मंगलबार मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायात संवद्ध मन्त्री र सचिव सहितको विषयगत समितिको बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन् । उनले मेसिन किनेर कार्ड बनाउने की कार्ड किन्ने भन्ने निर्णय प्रदेश सरकारले नै गर्नुपर्ने बताए ।
उनले वागमती र कोशी प्रदेशले प्रयास गरिसकेको भन्दै अब अन्य प्रदेशले पनि सुरु गर्नुपर्ने बताए । आगामी कार्तिक मंसिरसम्म २५ लाख लाइसेन्स छपाइ सक्नुपर्ने बताए । उनले जसमा अहिलेसम्म साढे ५ लाख मात्रै छापिएको र १९ लाख अझै छपाई गर्न बाँकी रहेको बताए ।
उनले भने, ‘१ साउनदेखि अब यो तपाईंहरूकै जिम्मामा हुन्छ । कार्ड किन्ने की मेसिन किन्ने की के गर्ने भन्ने अन्योल छ भन्नुभयो । त्यो तपाईंहरूकै जिम्माको कुरा हो । तपाईंहरूले कार्ड किन्नुहुन्छ की मेसिन किन्नुहुन्छ ? के गर्नुहुन्छ तपाईंहरूले निर्णय गर्नुपर्छ ।’
उनका अनुसार आगामी कार्तिक मंसिरससम्म २५ लाख छप्नु पर्नेछ । अहिले करिब साढे ५ लाख लाइसेन्स छापिएको छ भने १९ लाख छाप्न बाँकी छ । मन्त्री दाहालले लाइसेन्स छपाई पूरा गर्न नसके सरकारलाई ठूलो नोक्शानी हुने अवस्था रहेको पनि बताए ।