रुपन्देही । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले उद्योगीहरूले ट्रंकलाइन र डेडिकेटेड लाइनमार्फत प्रयोग गरिएको बिजुलीको विल तिर्नुपर्ने बताएका छन् ।
भैरहवामा आयोजित सिद्धार्थ उद्योग वाणिज्य संघको ६६औं वार्षिक साधारण सभामा सम्बोधन गर्दै मन्त्री खड्काले भने, ‘उद्योगीले कति रकम तिर्नुपर्ने हो, यसको विल नेपाल विद्युत् प्राधिकरणले दिनुपर्छ ।’
उनले झुठा विवरणका आधारमा उद्योगीलाई विल तिर्न लगाउनु अत्याचार भएको बताउँदै, ‘सरकारको जिम्मेवार निकायमा बस्ने, झुठा विवरणहरू पेश गर्ने अनि जनतालाई दुःख दिने कुरा सरकारलाई स्वीकार्य हुँदैन ।’
मन्त्री खड्काले निजी क्षेत्रसँग साझेदारी गर्दै अर्थतन्त्रलाई बलियो बनाउन, सुशासन कायम गर्न र समृद्धि प्राप्त गर्ने सरकारको पहिलो लक्ष्य रहेको पनि उल्लेख गरे । उनले २२ वटा उद्योगका डेडिकेटेड र ट्रंकलाइनको विवाद समाधान गर्न सरकारको कदमको चर्चा गर्दै आगामी दिनमा यस्ता अन्याय नहुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रमुख अतिथि ऊर्जा मन्त्री दीपक खड्काले पानसमा दीप प्रज्वलित गर्दै उद्घाटन गरेका थिए । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महासचिव कृष्णप्रसाद घिमिरेले संघको ऐतिहासिक यात्रा र योगदानबारे जानकारी गराए । संघका विगत दुई वर्षको गतिविधिहरू प्राविधिक टोलीले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले संघको प्रगतिको चर्चा गरे । सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले उद्योग क्षेत्रको विकासमा संघको भूमिकाबारे धारणा राखे ।
लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयले प्रदेश सरकार व्यवसायीलाई सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा संविधान सभा सदस्य, पूर्व मन्त्री, प्रदेश सभा सदस्य, उद्योग वाणिज्य महासंघका उच्च पदाधिकारी र उद्योगी व्यवसायीहरूको उल्लेखनीय उपस्थिति थियो।
महासचिव घिमिरेले संघको ऐतिहासिक यात्रा र व्यावसायिक समस्याहरू समाधान गर्न संघको भूमिकाबारे जानकारी गराए ।
अध्यक्ष ठाकुर कुमार श्रेष्ठले समापन गर्दै व्यवसायिक हितका लागि संघले आगामी दिनमा अझ प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जनाए ।