काठमाडौं । जिल्ला प्रशासन कार्यालयले काठमाडौंका विभिन्न स्थान दुई महिनासम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम काठमाडौं प्रशासनले एक सूचना जारी गर्दै निषेधित क्षेत्र घोषणा गरेको हो।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेश कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उश्रृंखल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम् हुलदंगा वा अशान्ति भई अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्न जानें अवस्था तथा अन्तर्राष्ट्रिय अभ्यास र यसअघि अदालतबाट भएको आदेश एवं फैसला समेतलाई मध्यनजर गरी जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिससमेत निषेधित क्षेत्र घोषणा गरिएको प्रशासनले जनाएको छ।
ती क्षेत्रमा फागुन २५ गतेदेखि लागू हुने गरी २ महिनासम्मका लागि ५ जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ। निषेध आदेश जारी गरिएका क्षेत्रबाहेकका स्थानमा नेपालको संविधानबमोजिम प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता एवं विना हातहतियार शान्तिपूर्ण रुपमा भेला जम्मा भई विरोधका कार्यक्रममा सहभागी हुन पाउने हक रहेको स्थानीय प्रशासनले जनाएको छ।
संविधान एवं प्रचलित कानून प्रदत्त अधिकारको प्रयोग हुने गरी गरेका विरोधका कार्यक्रमवाट सरकारी, सार्वजनिक एवम् व्यक्तिगत सम्पत्तिमा हानी नोक्सानी र क्षति भएमा स्थानीय प्रशासन ऐन २०२८ तथा सार्वजनिक प्रदर्शन, हडताल, तथा विरोधका कार्यक्रमवाट हुने क्षति मूल्यांकनसम्बन्धी कार्यविधि, २०८१ बमोजिम क्षतिको मूल्यांकन गरी आयोजकबाट नै त्यस्तो क्षतिपूर्ति वापतको रकमअसुल उपर गराइने प्रशासनले जनाएको छ।
शितल निवास (राष्ट्रपति कार्यालय) महाराजगंज क्षेत्र
उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म,
पूर्व दक्षिणतर्फ सामाखुशी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म,
दक्षिण पश्चिमतर्फ सामाखुशी जाने मोडदेखि सामाखुशी खोलासम्म।
हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र
केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म।
सिंहदरबार क्षेत्र
भद्रकाली मन्दिर (तिनकुने आइल्याड) को पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरवार मूल गेटसम्म,
सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय मा.वि.को मोडसम्म,
पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरवारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरवार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म,
सिंहदरवार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्व विभागको चोकसम्म,
पुरातत्व विभागको चोकदेखि सिंहदरवार दक्षिण गेट हुँदै हनुमानस्थान मन्दिरसम्म,
जिल्ला अदालतको पूर्वी मोडको प्रवेश मार्गदेखि जिल्ला प्रशासन कार्यालय उत्तरतर्फको मोडसम्म।
प्रधानमन्त्री निवास वालुवाटार क्षेत्र
वालुवाटार पवित्र वर्कशप चोकदेखि नेपाल राष्ट्रबैंक हुँदै इटालिया चोक र सो चोकदेखि भाटभटेनीतर्फ ५० मिटरसम्म,
इटालिया चोकदेखि पश्चिमतर्फ राष्ट्रिय सभा अध्यक्षको निवाससम्म र सो निवासदेखि गैह्रीधारा जाने सडकतर्फ १०० मिटरसम्म,
प्रधानमन्त्री निवासको उत्तरपूर्वी मोडदेखि प्रधान न्यायाधीश निवासको मोडसम्म र सो मोडदेखि पश्चिमतर्फ १०० मिटरसम्म,
प्रधान न्यायाधीश निवासको मोडदेखि पूर्व दक्षिणतर्फ राष्ट्रिय सभा अध्यक्षको निवासको मोडसम्म,
राष्ट्र बैंक चोकदेखि पूर्वतर्फ जाने सडकको १०० मिटरसम्म।
संसद भवन नयाँ बानेश्वर क्षेत्र
संसद भवनको चारैतर्फको सडक क्षेत्र,
संसद भवनको दक्षिणपूर्वी मोडदेखि पूर्वतर्फ ३०० मिटरसम्म,
बानेश्वर चोकदेखि पश्चिमतर्फ ३०० मिटरसम्म।