काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङले लोडसेडिङ अन्त्य कुनै चमत्कार नभएर इमानदार प्रयास भएको बताएका छन् ।
बर्खास्तीमा परेपछि पहिलो पटक शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यस्तो बताएका हुन् ।‘वैदेशिक मुद्रामा चाप परेको बेला हामीले विद्युत् निर्यात गरेर अर्थतन्त्रमा योगदान गर्यौँ, निरन्तर घाटामा रहेको प्राधिकरण अर्बौँ नाफामा छ, हामी प्राधिकरणलाई सशक्त र आत्मनिर्भर बनाउन सफल भयौँ, प्राधिकरणले जनताको घरघरमा बिजुली पुर्याउन सक्नु नै मेरो कार्यकालको सफलता हो,’ उनले भने ।
सरकारले कार्यकाल बाँकी छँदै कार्यकारी बर्खास्त गरेपछि घिसिङ सरकारविरुद्ध सर्वोच्च अदालत गएका थिए । तर सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घिसिङले यिनै सेरोफेरोमा रहेर पत्रकार सम्मेलन गरिरहेका छन् ।