काठमाडौं । हनुमान जयन्तीको शोभायात्राका क्रममा ढुंगामुढा भएपछि पर्साको वीरगन्जमा कर्फ्यु लगाइएको छ । एसपी गौतम मिश्रले जिल्ला प्रशासन कार्यालय पर्साले आज ६ः३० बजेदेखि भोलि मध्याह्न १२ बजेसम्मका लागि वीरगन्जको मुख्य बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको बताए ।
प्रत्येक वर्षझैं हनुमान जयन्तीको शोभायात्राका क्रममा वीरगन्ज घन्टाघरदेखि दक्षिणतर्फ गएर फर्किने क्रममा छपकैया-३ मा रहेको श्रीराम हल चोक नजिक अज्ञात समूहबाट ढुंगामुढा भएपछि तनाव सिर्जना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
हुलदंगा भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई दर्जन अश्रुग्यास प्रहार गरेको छ । उक्त घटनामा दुई इन्सपेक्टर र केही स्थानीयहरु घाइते भएको प्रहरीले बताएको छ ।