काठमाडौं । निर्माणको अन्तिम चरणमा पुगेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको काम एक महिनादेखि ठप्प भएपछि सुरुङमार्गको प्रवेश बिन्दुमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ ।
स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेपछि चैत ३ गतेदेखि आयोजनाको कुनै पनि काम अगाडि बढ्न सकेको छैन । स्थानीय आन्दोलित भएपछि आज (आइतबार) बिहानै सुरक्षाकर्मी परिचालन गरेर काम अगाडि बढाउन खोजिए पनि स्थानीयले अवरोध कायमै राखेका छन् । उनीहरूले जबरजस्ती काम अघि बढाइएको भन्दै आयोजनाको कार्यालयमा तोडफोड गरेका छन् ।
सुरक्षाकर्मीले आफूहरूलाई धरपकड गरेको नागढुङ्डा अलाइन्टमेट संघर्ष समितिका अध्यक्ष विकास कडेँलले बताए । अवरोधका कारण आयोजनाको पूर्वी र पश्चिमी पोर्टल दुवैतिर काम अवरुद्ध भएको छ । आयोजनाको काम सुरु भएयता स्थानीयवासीले १२ पटकभन्दा बढी आयोजनाको काममा अवरोध पु¥याइसकेका छन् ।
काम अवरुद्ध हुँदा जापानी कम्पनीको हाजमा एन्डो कर्पोरेसनले दैनिक ५० लाख रुपैयाँ क्षतिपूर्ति माग गरेको छ । आयोजनामा १५ जना जापानीसहित तीन सय नेपाली कार्यरत छन् । सुरुङमार्गभित्र अक्सिजन, लाइट, भ्यान्टिलेसन, टेलिफोन, जेट पङ्खालगायतका संरचना जडान भइरहेको थियो ।
आयोजना अन्तर्गत अहिले तीन वटा अन्डरपास, चार वटा कल्भर्ट, तीन वटा पुल र एउटा ओभरपास र फ्लाइओभर गरी कुल १२ वटा संरचना निर्माण चरणमा छ । आयोजनाका प्रवक्ता रमेश कोइरालाका अनुसार काम अवरुद्ध हुनुअघि चौडाइ (क्यारिज–वे) साढे नौ मिटरको हुने यस सुरुङमार्गको बिचमा डेढ मिटर चौडाइको विभाजक (मेडियन) र आधा आधा मिटरको दुई वटा पेटी निर्माण भइरहेको छ । सुरुङमार्गको निर्माणमा अहिलेसम्मकै उच्चतम् प्रविधि प्रयोग भइरहेको छ ।