काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार साँझ ७:३४ बजे रुकुमपूर्वको रन्मामैकोट केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ। पछिल्लो समय पश्चिम नेपालमा साना भूकम्पहरू निरन्तर भइरहेका बेला आएको यो नयाँ धक्का हो ।
गएको कात्तिक १७ गते जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । त्यसयता जाजरकोट र वरपरका क्षेत्रमा समयसमयमा भूकम्पका पराकम्पहरू महसुस भइरहेका छन् ।
आज वैशाख १२ गते, ठीक १० वर्षअघि गोरखाको बारपाक केन्द्रबिन्दु भएको विनाशकारी भूकम्पको स्मृतिमा ‘भूकम्प स्मृति दिवस’ मनाइँदैछ । सन् २०१५ अप्रिल २५ मा गएको ७.६ म्याग्निच्युडको त्यो भूकम्पले करिब ८ हजार ९७९ जनाको ज्यान लिएको थियो भने २२ हजार ३०९ जना घाइते भएका थिए ।
त्यही विनाशकारी दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ। विशेष कार्यक्रम काठमाडौंको सुन्धारास्थित धरहरा परिसरमा आयोजना गरिएको छ, जसमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहनेछन् ।
‘सुरक्षित पूर्वाधार निर्माण गरौँ, भूकम्पबाट जोगिऔँ’ भन्ने नारासहित मनाइँदै गरेको यो दिवसले नागरिकमा भूकम्पीय सुरक्षाबारे चेतना फैलाउने उद्देश्य राखिएको छ। विशेषज्ञहरूले पनि पछिल्ला साना धक्काहरूलाई बेवास्ता नगर्न आग्रह गरेका छन्।